काठमाडौं । दशैँ तिहारका लागि गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरिएको छ।
काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले चाडपर्वमा पाकेटमार, चोरी, डकैती र लुटपाटका घटना धेरै हुने हुँदा कोठा वा घर छाडेर जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेका हुन् ।
उनले घरको गेट, ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्न, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्न, सकेसम्म नगद, बहुमूल्य सामान र गरगहनाहरु घरमा नराख्न पनि आग्रह गरेका छन् । प्रहरीले आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ ।
यस्तै काठमाडौं उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरेको छ। दसैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागु भएको हो ।
