मस्को । हाल रुसको नियन्त्रणमा रहेका युक्रेनका केही भागमा तत्काल जनमत संग्रह गर्ने रुसले बनाएको योजनाको पश्चिमी राष्ट्रहरूले निन्दा गरेका छन् । रूसले चार युक्रेनी क्षेत्रका नागरिकलाइ रुसको हिस्सा बन्ने कि नबन्ने भनेर सोध्न जनमत लिन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संयुक्त राज्य अमेरिका, जर्मनी र फ्रान्सले नक्कली मतपत्रको नतिजालाई कहिल्यै मान्यता नदिने चेतावनी दिएका छन् । नेटो सैन्य गठबन्धनले यो योजनाले युद्धको विजारोपण हुँदै गएको बताएको छ । शुक्रबारदेखि सुरु हुने गरी पाँच दिनसम्म निर्वाचन सञ्चालन गर्ने योजना पूर्वी क्षेत्र लुहान्स्क,डोनेट्स्कका साथै दक्षिणमा जापोरिज्जिया र खेरसनमा छ ।
युद्धको बीचमा वैध र निष्पक्ष निर्वाचन गर्न सकिन्छ भन्ने रुसको दाबीलाई पश्चिमाहरूले इन्कार गरेका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसी योजनाको भन्डाफोर गरेका छन् । रुसको कदमलाइ उनले उनकै भाषामा 'साम निर्वाचन' भनेका छन् । उता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी कदमलाइ लोकतन्त्रको 'प्यारोडी' भनेका छन् ।
संयुक्त राष्ट्र महासभामा भाग लिइरहेका म्याक्रोनले न्यूयोर्कमा पत्रकारहरूलाई भने, 'जनमत संग्रहको कदम दुखद र हास्यास्पद हो ।' उनले तटस्थ बसेका देशहरूलाई अडान परिवर्तन गर्न आग्रह गरेका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणको कदममा केही देशहरुको मौनता वा संलग्नता हुनु ऐतिहासिक त्रुटि भएको म्याक्रोनले दाबी गरेका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकाले मतदानलाई कहिल्यै पनि मान्यता नदिने बताए । उनले रुसको कदमले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सिद्धान्तको अपमान भएको दाबी गरेका छन् । आक्रमणकारी शक्तिहरूद्वारा नियोजित कुनै पनि जनमतसंग्रहले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्ने र यसमा कुनै कानुनी बल नहुने सुलिभानको दाबी छ ।
यसैगरी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको हावादारी कदमको सामनामा सहयोग गरेको भन्दै आफ्ना साझेदार देशहरूलाई धन्यवाद दिएका छन् । जेलेन्स्कीले आजै (बुधबार) भिडियो लिंकमार्फत संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्ने गर्ने भएका छन् । उनले सम्बोधनका क्रममा रुसी कदमको विरोध गर्ने र अन्य देशहरुलाइ सहयोग गर्न आह्वान गर्ने सम्भावना छ ।
केही दिनभित्रै युक्रेनमा मतदान गर्ने रुसी योजनालाई युरोपियन देशहरुले गम्भीरतापूर्वक हेरेका छन्। पुटिनले युक्रेनका भू-भागलाइ आफ्नो देशमा गाभ्ने काम गरेको भन्दै अन्य देशहरुले दबाबमुलक चेतावनी दिइरहेका छन् । केही युक्रेनी भूमिमा आफ्नो नियन्त्रण कामय भएमा आफूले कब्जा गरेका क्षेत्रमा पश्चिमी देशहरुले पठाएको हतियारसम्बन्धी पर्याप्त प्रमाणहरु जुटाउन सकिने रुसी योजना छ।
धेरै पश्चिमी राष्ट्रहरूले युक्रेनलाई आफ्नो रक्षामा मद्दत गर्न हतियारहरू आपूर्ति गर्दै आएका छन्। यस अवस्थामा पहिल्यैदेखि चलिरहेको रक्तपातलाइ अझ चर्काउन सक्ने आशंका भएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रमुखले युद्ध लामो समयसम्म जान सक्ने आशंका व्यक्त गरेका छन् । युक्रेनमा हालसालै थप सामूहिक चिहान फेला परेकोमा प्रतिक्रिया दिँदै, पिटर मौररले मेलमिलाप झन् गाह्रो हुँदै गइरहेको बताए।
यता युक्रेनी चार क्षेत्रका रुस समर्थक नेताहरूले जनमत संग्रहलाई समर्थन गरेका छन्। लुहान्स्कमा रुसी प्रोक्सी प्रशासनका प्रमुख लियोनिद पासेचनिकले रुस सरकारको कदम 'साझा सपना र हाम्रो साझा भविष्य' भएको बताए । रुसको सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदभेदेवले मतले ऐतिहासिक न्याय पुनर्स्थापित गर्ने र अपरिवर्तनीय हुने बताएका छन् ।
