काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा उत्खननका सन्दर्भमा उच्च अदालत पाटनले दिएको आदेशमा असन्तुष्टि जनाएका छन् ।
हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजनामा असोज २६ गतेसम्म रोक लागेको छ । उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल ती क्षेत्रका संरचना नभत्काउन आदेश दिएको हो ।
त्यसप्रति कटाक्ष गर्दै उनले अदालतले टुकुचालाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्छ भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’
महानगरपालिकाले टुकुचा उत्खनन थालेपछि यसबारे व्यापक बहस भइरहेको छ भने अदालतसम्म मुद्दा पुगेको हो।
