नेपालगन्ज । नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो ।
आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिवार हुँदैछ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शनिवार हुँदै आएको म्याराथन यसबर्ष आम निर्वाचनका कारण यसपटक मंसिर २४ गते हुने भएको हो । म्याराथन नेपालगन्ज उपमहानगरपालिकादेखि सुरु भएर जानकी गाउँपालिकाको केही भूभाग हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि करिब चार किलोमिटर उत्तरतर्फ बानियाभार पुगेर पुनः सोही रुट हुँदै बीपी चोकमा पुगेर सम्पन्न हुने भएको छ ।
‘बिहीबार राति मात्रै एम्सको पत्र र प्रमाणपत्र प्राप्त भयो ।’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने,‘चारवटा विधाको अलगअलग प्रमाणपत्र पाएका छौं ।’ एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडको रुट प्रमाणीकरण भएको हो । एम्सका कोर्ष म्यानेजर आमिर सान्डिवानले भदौ १२ गते सुर्खेतरोडस्थित रुट मापन गरेर रिपोर्ट बुझाएका थिए । वल्र्ड एथ्लेटिक्सका इन्टरनेसनल मेजरमेन्ट एडमिनिस्ट्रेटर डेभ कुन्डीको हस्ताक्षरित प्रमाणपत्र प्राप्त भएको हो ।
क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको म्याराथनका लागि २०७९ असार १५ गते देखि खेलाडी दर्ता खुला गरिएको छ । नेपालगन्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजकले जनाएको छ । गत बर्ष झैं यस बर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिएको छ ।
पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भएको छ ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सुत्रमा बाँधिएको सदभावको शहर हो । देशको संघीय संरचनामा नेपालगञ्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलको मुख्य प्रवेश द्वार पनि हो । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न आठ बर्ष अघि नेपालगञ्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।
विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाउ“ बिशेषको पहिचान स्थापित गर्छ, बिभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । यसले सामाजिक एकताको सन्देश दिन्छ भने यो एक हिसाबले एउटा उत्सव पनि हो ।
