• ट्रेण्डिङ्ग :
संघर्षका कथा
मूर्तिबाटै जीविकोपार्जन

मूर्तिबाटै जीविकोपार्जन


  • 4.1K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.3K Views

    मूर्तिबाटै जीविकोपार्जन

    गोलबजार । सिरहाको सखुवाननकारकट्टी गाउँपालिका–५ इटहर्वाका राजेन्द्र राम बाह्र वर्षको उमेर छँदा माटोको मूर्ति बनाउन थालेका हुन् । हाल उनी ६८ वर्षको भए । देवी देवताको मूर्ति बनाउन रामले झण्डै चार दशक खर्चिए । उनले आवश्यकताअनुसार अन्य मूर्ति पनि बनाउने गरेका छन् । 

    images

    सुरुआतमा मूर्ति बनाएर जीविकोपार्जन गर्न राजेन्द्रको परिवारलाई धौ धौ थियो । पछिल्लो समय भने यसबाट राम्रै आम्दानी गर्न सफल भएको उनी बताउँछन् । ‘जीवन गुजाराको माध्यम यसैलाई बनाएको छु’, रामले भने । रामलीला तथा भजन कीर्तन मण्डलीसमेत सञ्चालन गर्दैआएका उनलाई उक्त क्षेत्रमा नचिन्ने कमै छन् । रामलीला सञ्चालन गर्न उनी सिरहा, सप्तरी, धनुषा तथा भारतको विहारसम्म पुग्छन् ।

    आधुनिक जीवनशैलीमा रमाउन थालेपछि माटोको मूर्ति बनाउनेको सङ्ख्या घट्दै गएको छ । तर रामलाई भने मूर्ति बनाउन भ्याइनभ्याइ छ । ‘युवापुस्ता माटाको मूर्ति बनाउन इच्छुक देखिदैन’, उनले भने । 

    हिन्दू परम्परा तथा मिथिलाञ्चलमा मनाइने प्रायःजसो चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग गरिन्छ । चाडपर्वमा माटोबाट निर्मित रङगिविरङ्गी मूर्ति प्रयोग गरिएको छ । विशेषगरी कृष्णाअष्टमी, विश्वकर्मा पूजा, दसैँ, तिहार, छठ, सरस्वती पूजा, जितिया पर्व, गणेश, अनन्तचतुर्दशी, नागपूजा, महायज्ञलगायतमा मूर्ति खपत हुन्छ ।

    देविदेवताका मूर्ति बनाउन राम बढी सक्रिय छन् । उनले बुवा मधुलालबाट सो सीप सिकेका हुन् । ‘बुवाकै सङ्गतबाट सबै कुरा सिके’, उनले भने, ‘पहिला मूर्तिको पारश्रमिक न्यून पाइन्थ्यो, अहिले राम्रै आम्दानी हुन्छ ।’

    बुवाबाट आफुहुँदै उनले छोरालाई पनि मूर्ति बनाउने सीप सिकाएका छन् ।  हाल उनका ३५ वर्षीय छोरा शिवराम पनि मूर्ति बनाउनमै सक्रिय छन् । उनले पनि बुवा राजेन्द्रबाट सीप सिकिरहेका छन् ।

    सबैजसोलाई कोरोना महामारीले प्रभावित पारेपनि राजेन्द्रलाई भने यसबाट खासै असर परेन । मूर्ति बनाउन उनलाई कोरोना कहरले पनि छेकेन । ‘कोरोना सङ्क्रमणका बेला पनि खासै समस्या भएन’, उनले भने, ‘बनाएका मूर्ति सबै बिक्री भए, छ जनाको परिवारको खर्च यसैबाट चलेको छ ।’ 

    अहिले राजेन्द्र अरुबेला भन्दा बढी व्यस्त छन् । बिहानदेखि रातिसम्म वडादसैँका पूजाका लागि विभिन्न कलात्मक मूर्ति बनाउन व्यस्त छन् । ‘वर्षमा दुई याम कामको निकै चाप हुन्छ । अहिले नौ ठाउँबाट  मूर्ति बनाउन माग भएको छ’, उनले भने । यसबापत राजेन्द्रले रु आठ लाख ३० हजार पाश्रमिक लिनुभएको छ । सबै खर्च कटाएर रु पाँच लाख जति नाफा हुने उनको भनाइ छ । राजेन्द्रले छ जनालाई रोजगारसमेत दिएका छन् । उनी थप्छन्, ‘यहीँ पेशाबाट गुजारा चलाएको छु, केही रकम जोहो पनि गरेको छु ।’ 

  • सम्बन्धित विषय:

  • # लोकेन्द्रप्रसाद यादव

  • लोकेन्द्रप्रसाद यादव
    लेखकबाट थप