काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो नेपाल आइपुगेकी छन् । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने ट्रुडो बुधबार बिहान काठमाडौं आइपुगेकी हुन् । उनले १२ दिनसम्म एसियाली मुलुकको भ्रमण गर्ने तालिका रहेको छ । ट्रुडो दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
चीन र रुसले अफगानिस्तानमा दुष्प्रचार फैलाएको अमेरिकाले आरोप लगाउँदै आएको छ । आफूले सामाजिक समता, मिडिया फ्रिडम र जलवायुका विषयमा गरेको सहयोगलाई यी देशले दुष्पचार गरेको अमेरिकाको आरोप छ ।
काठमाडौंमा बस्दा ट्रुडोले भ्रमपूर्ण समाचार र लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिकाबारे ‘राउन्ड टेबल’ अन्तरक्रिया गर्ने कार्यक्रम छ । साथै, अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ । नेपाल भ्रमण पूरा गरेपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा निस्किने कार्यतालिका रहेको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।
