• ट्रेण्डिङ्ग :
संघर्षदेखि सफलतासम्म
जसले मोटरसाइकल बेचेर घाँसमा लगानी गरे !

जसले मोटरसाइकल बेचेर घाँसमा लगानी गरे !


भन्छन् – खाडीमा होइन, झाडीमा भेटिन्छ सम्भावना

  • 4.4K
    SHARES
    • आश्विन २१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    जसले मोटरसाइकल बेचेर घाँसमा लगानी गरे !

    गोकर्ण नेपालीले व्यक्ति देखेपछि जस्ताको त्यस्तै खेस्रा (स्केच)तयार पार्नेका रुपमा आफूलाई परिचित समेत गराएका छन् । विद्यालय तहबाटै आफूले चित्र बनाउँदा शिक्षकको प्रशंसा पाएकाले अझै प्रेरित भएको नेपालीले बताए । उनले गुल्मीलाई प्राथमिकता दिने भन्दै रेसुङ्गा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, गुल्मीमा पूर्वप्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टाई र पत्रकार प्रेम सुनारलगायत थुप्रैको स्केच तयार गरेका छन् । 

    रेसुंगा । पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ । नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ । त्यही एउटा अपवाद बनेका छन्, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली । 

    images

    गुल्मीको इस्मा गाउँपालिका ३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहेका छन् । उनको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ । मुख्य गरेर घाँस खेती गरेका नेपालीले झाडीमा मिहिनेत गरेर अर्थोपार्जन गर्ने बताउँछन् । उनले खाडी मुलुकमा जानुको सट्टा झाडीमा मिहिनेत गर्न सुझाउँछन् ।

    उनले साउन २०७६ देखि ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेर त्यसलाई  अहिले ५० लाख रुपैयाँभन्दा बढी पुर्‍याएका छन् । उनले गत जेठदेखि भदौसम्ममा १९ लाख रुपैयाँको घाँसको बिरुवाहरू बिक्री गरेका हुन् । उनीसँगै गुल्मीका स्थानीय तहसँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्यूठान र बाग्लुङका कृषकहरुले बिरुवाहरू खरिद गरेका थिए ।

    उनीसँग अहिले ३१ लाखबराबरका इपिल–इपिल, राइखन्यु र नेपियरलगायत ४४ प्रकारका घाँस छन् । उनले १२० रोपनीमा घाँस खेती गरेका छन् । सो जग्गामध्ये ८० रोपनी गोकर्ण आफ्नै हो भने बाँकी ४० रोपनी लिजमा लिएका छन् ।

    बिहानदेखि साँझसम्मको समय खेतबारीमा व्यतित गर्ने गोकर्णले घाँसखेतीसँगै बाख्रापालनसमेत गरेका छन् । उनले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेको बताए । नेपालीको आधुनिक खोर निर्माण गरी त्यसमा ३६ वटा बाख्रा राखेका छन् । भौतिक संरचना र माउ बाख्रा खरिदसँगै कुल ६ लाख रुपैयाँ लगानी गरेका गोकर्णले आम्दानीको सुरुवाती चरणमा रहेको बताउँछन् ।

    रोजगारी सिर्जना

    गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ । आफसँगै दिनभर अर्का एक र मौसमी रुपमा १०/१२ गरी औसतमा दैनिक आठजनाले फर्ममा रोजगारी पाएका छन् ।

    यीबाहेक आमा विष्णु नेपाली, भाइ करण र बहिनी गोमा पनि गोकर्णलाई हरेक क्षण सहयोग गर्छन् । ‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ,’ गोकर्णले भने । उनले आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो व्यक्त गरे । स्थानीयले आफ्नै गाउँमा काम गर्न हिच्किचाहट मान्ने गरेको अनुभव गोकर्णसँग छ । राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उनले झेलिरहेका छन् ।

    गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताउँछन् । पशुपालन धेरै ठाउँमा गरिरहेको देखेका उनले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देखे । आहारको व्यवस्थापन आफैँले गर्न सकेमा आम्दानीको स्रोत बढ्नेमा उनको बुझाइ रह्यो । त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उनले बताए ।

    अझै पनि घाँस खेतीमा कमी भएकाले अरूले यो व्यवसाय सुरुवात गरेमा पनि निकै फाइदा पुग्ने उनको धारणा छ । आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहेसम्म लगानी नडुब्ने बताउँछन् । आफ्नो बुबा चिन्ताबहादुरलाई ४० वर्षको अल्पायुमा गुमाएका गोकर्ण पेसाप्रति विचलित नभई अडिग रहे । उनी हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने सुझाए ।

    मोटरसाइकल बेचेर लगानी

    गोकर्ण पहिले सामान्य मोटरसाइकल चढ्थे । केही गर्ने हुटहुटीले उनले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरे । उनले ८० हजार रुपैयाँमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरुवा ल्याएर रोपे । पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल भए । उनले यसलाई सफलताका रूपमा लिएका छन् । 

    वार्षिक चार महिना घाँसको हाहाकार हुने भएकाले आफू घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताए । फागुनदेखि जेठ महिनासम्मको सुक्खायाममा घाँसको हाहाकार हुने गर्छ । त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उनले बताए ।

    ‘मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकाले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छु,’ गोकर्णले भने । घाँस खेती गरेर अन्य पालिकामा  निर्यात गर्दा पनि आफूलाई गाउँपालिकाको सहयोग नगरेको भन्दै जनप्रतिनिधिहरुले हौसला दिएमात्र पनि पुग्ने उनको भनाइ छ ।

    पागलको उपनाम पाए

    ग्रामीण भेकका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन रहेको छ । मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँस खेती सुरु गर्दा गोकर्णलाई गाउँलेले पागलको उपनाम दिएका थिए । ‘सबैले मलाई पागल भन्दै हिँडिरहेको सुन्दा पनि म कत्ति विचलित भइनँ,’ गोकर्णले भने । 

    कर्मबाट प्रतिक्रिया दिने अठोट बोकेका गोकर्णले गाउँलेको पागल उपनाममा केही पनि नबोलेको सुनाए, ‘सुरुवाती चरणमा पागल भन्नेहरुले अहिले प्रशंसा गर्दा आफूलाई सफल भएको अनुभूति हुन्छ ।’

    गोकर्णले कृषि र पशुपालनबाट छिट्टै प्रतिफल खोज्न नहुने बताए । वर्तमान नेपाली समाज दिनभर काम गर्ने साँझ प्रतिफल खोज्ने छन्,’ उनले भने, ‘दीर्घकालीन अपेक्षा राखेर मात्र नेपाली माटोसँग खेल्नुपर्छ‍ ।’ 

    छोटो समयमा धेरै फाइदा खोज्दा आफैँलाई नोक्सानी हुने उनको भनाइ छ । परिश्रम निरन्तर गर्ने नतिजा नखोज्ने बानीले अन्तिममा सफलता दिलाउने अनुभव प्रत्यक्ष आफूले गर्न सकेको गोकर्णले बताउँछन् ।

    हचुवाको भरले कुनै क्षेत्रमा पनि आर्थिक लगानी नगर्न उनी अरूलाई सुझाउँछन् ।  सुझबुझबाट मात्र आर्थिक लगानी गर्नुपर्नेमा उनको जोड छ । सबैसँग सल्लाह गरेर व्यवसाय सुरु गर्नुपर्दछ’, उनले थपे, ‘आफ्नै मेहनत र लगावको कारणले मात्र सफल हुन सकिन्छ ।’ श्रम गर्न हिच्किचाहट मान्नै नहुने गोकर्णको तर्क छ । परिवारिक साथ, सहयोग र समर्थन भएमा मात्र कृषि र पशुपालन व्यवसाय सफल हुने उनीसँग ज्ञान छ । 

    स्केचमा पनि अब्बल गोकर्ण

    गोकर्ण नेपालीले व्यक्ति देखेपछि जस्ताको त्यस्तै खेस्रा (स्केच) तयार पार्नेका रुपमा आफूलाई परिचित गराएका छन् । विद्यालय तहबाटै आफूले चित्र बनाउँदा शिक्षकको प्रशंसा पाएकाले अझै प्रेरित भएको नेपालीले बताए । 

    उनले गुल्मीलाई प्राथमिकता दिने भन्दै रेसुंगा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, गुल्मीमा पूर्वप्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलगायत थुप्रैको स्केच तयार गरेका छन् । 

    उनले खासगरी आफलाई प्रेरणा मिल्ने व्यक्तिहरुको स्केच तयार गर्ने गरेको बताए । गोकर्णले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महावीर पुन, विजय लामा र कुलमान घिसिङलगायतको स्केच तयार पारेर उनीहरुलाई नै उपलब्धसमेत गराइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # संघर्षदेखि सफलतासम्म

  • सन्तोष महतारा
    लेखकबाट थप