काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले सञ्चारमाध्यमलाई शुक्रबार एक समाचार दियो । त्यो केभन्दा ‘चितवन ३ छाडेर माओवादी केन्द्रका सुप्रिमो गोरखा २ बाट चुनाव लड्ने भएका छन् । लगत्तै, चितवन भरतपुर महानगरपालिका मेयर, प्रचण्डपुत्री रेणु दाहालले एक स्टाटस लेख्दै यो निर्णय चितवनवासीका लागि दुर्भाग्य भएको बताइन् ।
प्रचण्डपुत्री मेयरसाब (साहेब) ले स्याडको इमोजी थपिन् र लेखिन्, ‘स्तब्ध, भित्री-बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागर गर्नेछ ।’ मेयरसाबको जन्मदातामाथि यत्रो षड्यन्त्र ? आखिर कसले गर्यो ? एकपटक बुझ्ने प्रयास गरौँ ।
सिंगो माओवादी केन्द्र प्रचण्डकै नेतृत्वमा छ । प्रचण्डलाई नसोधी नेताहरु पार्टी कार्यालय ‘पेरिसडाँडाको शौचालय’मा जान पनि मुस्किल हुन्छ । त्यसरी चलाइरहेका छन् प्रचण्डले माओवादी । जहाँ प्रचण्डभन्दा माथि कोही पनि छैन र हुँदैन । हुनेहरुलाई तह लगाउन बेर छैन । त्यसका थुप्रै उदाहरण छन् ।
जसमध्येका पूर्वप्रम बाबुराम भट्टराई पनि पर्छन् । भलै, अहिले प्रचण्डकहाँ ओत लाग्न आए पनि कुनैबेला प्रचण्डलाई भ्रष्टाचारी भन्दै हिँड्ने उनी पनि हुन् । जुन भिडियोहरु सामाजिक सन्जालतिर सुरक्षित भेटिन्छन् । प्रचण्डसँग कुनै पनि हालतमा साठगाँठ नहुनेसमेत बताउँथे बाबुराम ।
तर, परिस्थिति बदलिँयो । समय फेरियो । बेला घर्कियो । अनि बाबुराम पनि ‘प्रचण्ड एयरपोर्ट’मा अवतरण हुन बाध्य भए । चितवन ३ छाडेर सुप्रिमो आफ्नो क्षेत्र गोरखा २ बाट चुनाव लड्ने निर्णयलाई अन्तर्हृदयैदेखि स्वागत गर्दै भन्छन्, ‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा २ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्याशी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि नै स्वागत गर्छु । वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेद्वारी निकै ठूलो सांकेतिक महत्त्वको छ। उहाँको सानदार विजयीको शुभकामना ।’
माओवादी नेतृत्वकर्ता सुप्रिमो प्रचण्डसँग सम्बन्धविच्छेद गर्ने नेताको जमात बढिरहेका बेला बाबुरामले आफ्नो क्षेत्र सुम्पिएका हुन् ।
यस्तोबेला सुप्रिमोमाथि ठूलो षड्यन्त्र ?
एक अर्थमा माओवादी अशक्त छ । जो बैसाखीविना हिँड्न सक्दैन । माओवादी र यसका नेतृत्वकर्ताले कि कांग्रेसको कि एमालेको सहारा नलिएसम्म सन्तुष्टि प्राप्त गर्दैनन् । यस्तो बेला प्रचण्डमाथि धोका ? प्रचण्डपुत्रीले त्यहीँ भनिन् । उनले भन्नु प्रचण्डले भनेसरी नै हो । उसो त प्रचण्ड चुनावका लागि जहाँ पनि जानसक्छन् । आफूलाई जहाँबाट फाइदा हुन्छ त्यहीँ उनी पुग्छन् । चुनाव लड्छन् ।
पहिलो संविधानसभाको चुनाव रोल्पा र काठमाडौं १० बाट लडेका प्रचण्ड दोस्रो संविधानसभासम्म पुग्दा सिरहा पुगे । काठमाडौं १० मा जित्न नसके पनि सिरहामा भने जिते । आगामी मंसिर ४ को निर्वाचनमा रोल्पा, पोखरा र रुकुम जाने हल्ला चल्दा प्रचण्डले चितवन ३ नछोड्ने बताएका थिए । यो उनले ०७४ मा जितेको क्षेत्र पनि हो ।
तर, यसपटक क्षेत्र असुरक्षित भएपछि सुप्रिमो गोरखा जान लागेको प्रस्ट बुझिन्छ । चितवनमा एमालेले मात्रै नभइ राष्ट्रिय स्वतन्त्र पार्टीसम्मकाले प्रचण्डलाई रोक्ने पासो थापिरहेका छन् । जसका लागि मैदानमा रवि लामिछाने छन् । अर्कोतर्फ कांग्रेसभित्रकै विद्रोह समूहले स्वतन्त्र उम्मेद्वार घोषणा गर्ने तयारी गरिरहेको छ । यस्तोबेला, चितवनको क्षेत्र असुरक्षित भएपछि बाबुरामको क्षेत्र गोरखा पुगेका हुन् ।
यसलाई न कसैको धोका भन्न सकिन्छ न कसैको षड्यन्त्र । जे गरे पनि सुप्रिमोले स्वयं गरेका हुन् । आफू सुरक्षित रहनकै लागि पनि गोरखा पुगेका हुन् । जुन कुरा माओवादी केन्द्रका पदाधिकारीले शुक्रबारको बैठकमै बताएका थिए ।
पेरिसडाँडामा भएको बैठकबारे जानकारी दिँदै चितवनको अंकगणितमा प्रचण्डविरुद्ध एमालेदेखि रवि लामिछोनहरु हात धोएरै लाग्ने भएपछि प्रचण्डले यो निर्णय गरेका हुन् । प्रस्ट यही हो, ‘चितवन असुरक्षित मानेर प्रचण्ड गोरखा पुगेका हुन् ।’
