काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार मृत्यु भएको छ । काँडाघारीस्थित आफ्नै निवासमा शौचालयमा लडेर उनको मृत्यु भएको हो ।
घरमा एक्लै भएका बेला शौचालयमा लडेर मृत्यु भएको उनका भाइ सरोज ढुंगेलले जानकारी दिए ।
नेता ढुंगेल लामो समयदेखि मिर्गौला तथा अन्य रोगबाट पीडित थिए । घरका सदस्यहरू टीका लगाउन बाहिर गएका बेला घरमा एक्लै हुँदा नेता ढुंगेलको शौचालयमा चिप्लिएर मृत्यु भएको हो ।
यसअघि माओवादी पार्टीमा रहेका नेता ढुंगेल तत्कालीन नेकपा फुटेपछि एमाले प्रवेश गरी पार्टी गतिविधिमा सक्रिय थिए । माओवादीमा रहँदा उनले संविधानसभा सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए । २०६४ सालमा उनी ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
माओवादी सशस्त्र द्वन्द्वका क्रममा उनी उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बसेका थिए । सोही कारण उनी दुईपटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।

