• ट्रेण्डिङ्ग :
६ वर्षमा पनि बनेन ४ किलोमिटर सडक

६ वर्षमा पनि बनेन ४ किलोमिटर सडक


  • 3.9K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    ६ वर्षमा पनि बनेन ४ किलोमिटर  सडक


    चितवन । झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको हो । सडक, विद्युत् र खानेपानीबीच समन्वय नहुँदा सडक विस्तारको काममा झन् ढिलासुस्ती भएको छ । सुरुआतका चरणमा रूख कटान, विद्युत्को पोल र खानेपानीको पाइप नसार्दा सडकखण्ड विस्तारमा समस्या भएको थियो । त्यसमाथि मूल्य वृद्धिलगायत विभिन्न बहाना बनाएर ठेकेदारले सडक निर्माणमा झनै ढिलासुस्ती गर्दै आएका छन् ।

    images

    सो सडकखण्डमा बनाइसकेको कालेपत्र भत्किन सुरु भइसकेको छ । ठाउँ-ठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ । भरतपुर महानगरपालिका ११ का स्थानीय महेन्द्र पाण्डेले सडक निर्माणमा चरम लापरबाही गरेको आरोप लगाए ।  बाइपास सडक विस्तारको काम दुई प्याकेजमा गरिएको छ । केन्द्रीय बसपार्क चोकदेखि विशाल चोकसम्मको जिम्मा गौरी पार्वती निर्माण सेवा र विशाल चोकदेखि आँपटारीसम्मको जिम्मा रायमाझी पशुपति जेभीले पाएका हुन् ।

    बसपार्क चोक-विशाल चोक खण्डको काम डेढ वर्षदेखि ठप्प जस्तै छ । बिजुलीका पोल नहटेको र मेडियन निर्माणमा स्थानीयको अवरोध भएको भन्दै ठेकेदार कम्पनीले काम रोकेको छ । यस खण्डको पश्चिमपट्टि नाला बनाउने काम अधुरो छ । बाँकी काम चाडपर्व र निर्वाचन सकिएपछि मात्रै सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ । सडकमै पर्ने कार्यालयकै अगाडि रहेको मन्दिरसमेत स्थानीयले भत्काउन नदिएको सडक डिभिजनका इन्जिनियर सागर कार्की बताए । सडक, खानेपानी, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकाय पहिला छलफल गरेर काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ । १५ महिनामा सक्नुपर्ने यस खण्डको काम झन्डै छ वर्षमा ९० प्रतिशत पुगेर अड्किएको उनले बताएका छन् । विद्युत् प्राधिकरणले नालीमा पर्ने बिजुलीका पोल नहटाउँदा सडक विस्तारको काम ठप्प भएको उनको भनाइ छ ।

    विद्युत्ले पोल नहटाउँदा सडक डिभिजनको कार्यालय अगाडि नै दुर्घटना भइरहेका छन् । त्यहाँ विद्युत्ले नयाँ पोल गाडिसकेको छ तर पुराना पोल हटाएको छैन ।  बाटोमुनि खानेपानीको पाइप भएकाले ठाउँ-ठाउँमा पिच भत्किएको उनले बताए । स्थानीयले आ–आफ्नो घरअगाडि जेब्राक्रस र गाडी घुमाउने ठाउँ राख्न दबाब दिँदा मेडियनलाई पूर्णता दिन नसकिएको उनले जनाएका छन्। नयाँ सडक भए पनि ठाँउठाँउमा टालटुल गरिएका कारण पुरानो सडकजस्तै देखिने गरेको छ ।  ४.४ किमी बाइपास सडक विस्तार गर्न गौरी पार्वतीसँग ०७३ पुसमा सम्झौता भएको थियो ।  १२ करोड ८१ लाख ८२ हजारमा सम्झौता भएको ठेक्काको काम पछि पुनरावलोकन भएर बसपार्कदेखि विशालचोकसम्म मात्रै चार लेनमा विस्तार गर्ने सहमति भएको थियो ।

    दुई वर्षमा सक्नुपर्ने विशालचोक-आँपटारी खण्डको काम म्याद सकिसक्दा पनि जम्मा ३० देखि ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यस खण्डको म्याद २०७८ साल फागुनमा नै सकिएको हो ।  कार्यालयले गएको साउनमा २०८० साल असारसम्मका लागि म्याद थप गरेको छ ।  २६ करोड रुपियाँको लागतमा २.२ किमी सडक विस्तार गर्न लागिएको हो । यस खण्डमा अहिले बेसको काम भइरहेको छ । २०७७ साल असोजमा सम्झौता भएको सडक खण्डको काम दुई वर्षमा सक्नुपर्नेमा अझै सकिएको छैन ।

    यो खण्डको काम पनि चाडपर्व र निर्वाचन सकिएपछि मात्रै सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ  । निर्माण कम्पनीले भने सरकारी निकायको समन्वय नहुँदा रूख कटानमा ढिलाइ, विद्युत्को पोल र खानेपानीको पाइप सार्न ढिलाइ गरेका कारण सडक निर्माणमा ढिलाइ भएको बताउँदै आएका छन् । राजमार्ग क्षेत्रको भीड र दुर्घटनाको जोखिम कम गर्न भन्दै विस्तार सुरु गरिएको  यो सडकखण्ड समयमै निर्माण सम्पन्न गर्नका लागि पटक–पटक सरोकारवालाबीच छलफल र ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिइएको थियो । तर निर्माणमा भएको सुस्तताले यहाँ यात्रा गर्नेलाई हैरानी बनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सडक निर्माण

  • तेस्रो आँखा