वीरेन्द्रनगर । कर्णाली प्रदेशभर बाढी-पहिरोमा परेर हालसम्म ३३ जनाकाे मृत्यु भएकाे छ । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा ९ जनाले ज्यान गुमाएका छन् । मुगुमा ८, कालीकोट ४, हुम्लामा ४ र जाजरकोटमा ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, डोल्पामा २ र सल्यानमा २ जनाको मृत्यु भएको छ भने दैलेखमा १ जनाको मृत्यु भएको हो । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति भएको छैन ।
प्रदेशभर २२ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बेपत्ता हुनेमा सबैभन्दा धेरै कालीकोटमा एक प्रहरी जवानसहित २० जना छन् भने जुम्लाका २ जना र दैलेखका १ जना छन् ।
बाढी-पहिरोबाट कर्णाली प्रदेशभर २१ जना घाइते भएका छन् । जसअनुसार, कालीकोटमा सातजना घाइते भएका छन् भने मुगु ५, हुम्लामा ४ जुम्लामा २, रुकुम पश्चिममा १ र जाजरकोटका १ जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कति विस्थापित ?
अविरल वर्षापछि खनिएको बाढी-पहिरोका कारण कर्णाली प्रदेशभरका ४८० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार, दैलेखमा १०३ परिवार बाढी-पहिरोका कारण विस्थापित भएका छन् भने मुगुान १७८, जुम्लामा ८६, कालिकोटमा ४८, हुम्लामा ४०, सल्यानमा ९, सुर्खेतमा ८, डोल्पामा ४, जाजरकोटमा २ र रुकुम पश्चिममा २ घरपरिवारलाई बाढी-पहिरोले विस्थापित बनाएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
प्रभावित जिल्लाहरूमा सुरक्षा समितिले समन्वय गरेर नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी परिचालन गरी राहत तथा उद्धार भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
- अविरल वर्षाका कारण वीरेन्द्रनगर नगरपालिका ९ को डुबानमा परेका क्षेत्र । तस्बिर : रासस
