काठमाडौं । हाल प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । प्रदेश १ का केही स्थानमा, मधेस प्रदेशका थोरै स्थान र वाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा अहिले भारतको हरियाणा आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । आज (बुधबार) दिउँसो भने प्रदेश १, मधेस, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस, वाग्मती र गण्डकीका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
बुधबार राति भने प्रदेश १, मधेस, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ । महाशाखाका अनुसार प्रदेश १, मधेस, वाग्मती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, मधेस, वाग्मती र गण्डकीका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने, त्यस्तै कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।
