• ट्रेण्डिङ्ग :
सुनसान नाका
कता गए तातोपानीका व्यवसायी ?

कता गए तातोपानीका व्यवसायी ?


  • 4.7K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    कता गए तातोपानीका व्यवसायी ?

    चौतारा । केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल-चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटेल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ ।

    images

    चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेस्टहाउस सञ्चालन गर्दै आएका शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउँछन् । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको व्यापारले लोभिएर आफ्नै घर बनाइ सुरु गरेको होटेल पाँच वर्ष राम्रो चलेको थियो ।

    २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँट नहुँदा उनलाई तातोपानीको घर ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ । नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुने मात्र अहिले तातोपानीमा छन् । ‘नाका चल्यो भने गरी खान पाइएला नत्र अब छाक टार्नै मुस्किल पर्छ,’ शेर्पाले भने ।

    सीमाको करिब पाँच सय मिटर तल कोदारीमा विगतको जस्तै नाका खुल्ने आशमा चार परिवार बसिरहेका छन् । ‘अन्यत्र जान ठाउँ छैन, यहाँ बस्न पनि त्रासबाहेक केही छैन,’ कोदारीमा भेटिएका पूर्णबहादुर श्रेष्ठले भने, ‘हाम्रो ठाउँ त अब कर्णालीभन्दा पनि विकट हुन थाल्यो ।’

    असुरक्षा र असहजताका कारण तातोपानी नाकाबाट व्यापार गर्न छाडेका व्यवसायी सहज अवस्था आएमा पुनः व्यापारमा फर्कन इच्छुक छन् । तर व्यवसायमा निरन्तर आउने उतारचढावका कारण तातोपानी नाकाबाट हुने व्यापारमा सहजता आउनेमा उनीहरू विश्वस्त हुनसकेका छैनन् ।

    लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन् । तातोपानी नाकाबाटै सबै सहजता हुने हो भने आफूहरू व्यवसायमा फर्कन तयार रहेको अर्जुन सापकोटा बताउँछन् ।

    सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका अनुसार अहिले तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायीको सङ्ख्या ७० प्रतिशतले घटेको छ । व्यवसायीमात्र होइन, नाकाबाट हुने व्यापार पनि त्यही अनुपातमा घटेको श्रेष्ठले जानकारी दिए ।

    लामो समयदेखि तातोपानीको व्यापारबाट टाढिएका अमृत खड्का विगतको जस्तै सहज वातावरण निर्माण भएमा पुनः व्यापारमा फर्कन इच्छुक छन् । तर अझै उनले सोचेजस्तो सहज हुनसकेको छैन । तातोपानी नाका पुनः पहिलेझैँ चल्ने आशमा बसिरहेका व्यापारी, कन्टेनर र होटेल व्यवसायी नाका ‘खण्डहर’ बनिदिँदा निराश भएको उनले बताए ।

    प्रतिदिन सातदेखि आठ कन्टेनरबाट अधिकांश रोल रेडिमेड कपडाजस्ता सामग्री भित्रिरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । कोरोनाकालअघि ५० कन्टेनर भित्रिएकामा अघिल्लो आव २०७६/७७ मा एक अर्ब ५९ करोड राजस्व उठाइएको थियो । 

    ‘सीमित कन्टेनर भित्रिएर सामग्री आउने भएकाले राजस्व अझै वृद्धि हुनसकेको छैन । सडक अवरुद्घ भइरहने समस्या उस्तै छ’, उनले भने । तातोपानी नाकाले गत आवमा लक्ष्यको १८ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

    काठमाडौँबाट चीनको व्यापारिक क्षेत्र खासा १२४ किमि र रसुवागढी १६४ किलोमिटरको दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरीमा छ । तर उत्तरी तातोपानी नाका भौतिक संरचनासँगै व्यापारिक रूपमा अव्यवस्थित बन्यो । भूकम्पको चार वर्षपछि मालवाहक रूपमा खुलाइएको नाका भोटेकोसी बाढी-पहिरोको अवरोधपछि खुले पनि पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले खुम्च्याइदियो ।

    बीस वर्ष अघिदेखि चल्दै आएका एक हजार चार सय मालवाहक कन्टेनर, दुई हजार आठ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए । ‘नजिकैको दूरी भएकाले व्यापारी उत्तरी तातोपानी नाकाप्रति आकर्षित छन् । तर यस्तो समस्या बारम्बार व्यहोर्नुपर्दा निराश हुँदै छन्,’ श्रेष्ठले भने । मुलुककै राजस्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तातोपानी भन्सारबाट हुने कारोबार घटे पनि सम्बन्धित निकायले चासो नदिएको व्यापारीको गुनासो छ । -रासस

  • सम्बन्धित विषय:

  • # तातोपानी नाका

  • तेस्रो आँखा
    लेखकबाट थप