काठमाडौं । देश निर्वाचनको माहोलमा छ । विभिन्न राजनीतिक दलका नेतादेखि स्वतन्त्र उम्मेद्वारहरु चुनावी रणनीति बनाउँदै गाउँ-सहरका घर-आँगनमा पुग्दै छन् । शीर्ष नेताहरुको क्षेत्रमा स्वतन्त्र तथा अन्य दलका उम्मेद्वारहरुले चुनौती दिइरहेका छन् । विभिन्न उम्मेद्वारको प्रतिस्पर्धात्मक घेराबन्दीमा रहेका विभिन्न पार्टीका शीर्ष नेताहरुमध्ये केपी शर्मा ओली पनि हुन् । नेकपा एमालेका अध्यक्ष ओली गृहनगर झापाको क्षेत्र नम्बर ५ बाट चुनावी दौडमा छन् । तर स्वतन्त्रसँगै अन्य पार्टीका उम्मेद्वारहरुसँग प्रतिस्पर्धा गरेर चुनाव जित्नुपर्ने उनका चुनौती छ ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग प्रतिस्पर्धा गर्नेहरुमध्ये चर्चित अनुहारमा युग पाठक देखिएका छन् । उनको परिचय भनेको वैकल्पिक चिन्तन र व्यवस्थामाथि प्रश्न गर्नु हो । झापामा ओलीसँग निर्वाचन लड्नेहरुमध्ये पाठक फरक विचारका साथ चुनावी मैदानमा छन् । उनी जसरी चर्चामा छन्, निर्वाचनको परिणाम त्यस्तै होला भन्न सकिन्न । ओलीले भने वर्षौंदेखि जनताको मन जितेर परिणाम आफ्नो पोल्टामा पार्दै आएका छन् । यस ठाउँमा ओलीलाई हराउनु पाठकलाई एक किसिमले फलामको चिउरा चपाउनु जस्तै हो ।
तर पाठकका लेख, अन्तर्वार्तालगायत हेर्दा उनले देश बनाउने केही भिजन बनाएका छन् । उनको भिजन कुनै राजनीतिक सिद्धान्त प्रतिपादन गर्नेमध्येकै जस्तो लाग्छ । तर एमालेमय तथा ओलीजस्तो व्यक्तित्वको पहिचान बोकेको उक्त क्षेत्रमा चुनावमा पाठकले कस्तो हैसियत बनाउने हुन्, त्यो भने चुनावपछि नै अवगत हुनेछ । पाठकले जनताको मन जित्दै चुनाव जिते भने सलाम हान्न योग्य हुनेछन् । देशको एक चर्चित नेता बन्नुका साथै राम्रै राजनीतिक हैसियत बनाउने नेता हुनेछन् । अध्ययनशील तथा लेखक पाठक ओलीलाई हराउँदै देशको राजनीतिमा उदाउन खोजेका एक बाठा पात्र हुन् । चर्चित नेतालाई हराए लोकप्रियता बढ्छ नै, भविष्यमा देशको बागडोर सम्हाल्ने अवस्थासम्म पुग्न सक्छन् ।
लेखक, पत्रकार तथा राजनीतिक विश्लेषकका रुपमा पाठकले गतिलो पहिचान बनाएका छन् । अध्ययनशील उनले देश-विदेशका लेखकका विभिन्न पुस्तकहरुको अध्ययन गरेका छन् । उनले लेखनमा पनि प्रशिद्धि कमाएका छन् । उनका चर्चित दुई पुस्तकमा उर्गेनको घोडा र माङगेना हुन् ।
पाठक नेपाली समाज यतिबेला वैचारिक संकटमा फसेको गुनासो गर्छन् । देशमा सवैभन्दा बढी संकट राजनीतिक दलका नेताले ल्याएको उनको तर्क छ । उनी मकवानपुरको माटोमा भिज्दै त्यहीँ हुर्के-बढेका व्यक्ति हुन् । तर, ध्यान भने झापातिर छ । झापाबाटै सशक्त वामपन्थी आन्दोलन गरेका, वर्षौं राजनीति गरेर हजारौं कार्यकर्ताको जमात बटुलेका ओलीलाई हराउने अभियान उनका लागि चानचुने हुँदै होइन ।
देशको ठूलो बौद्धिक सर्कलले राम्ररी चिने पनि झुपडीका जनताले उनका पुस्तक पढेका छैनन् । उनका विचार राम्ररी सुनेका छैनन् । आफ्नै घर-आँगनको व्यक्ति हो भने विश्वास गर्ने आधार पनि छैन । विभिन्न चुनौती हुँदाहुँदै ओलीकै क्षेत्रबाट केही भिजन लिएर चुनाव लड्नु पाठकको साहसिक राजनीतिक दौड हो ।
मकवानपुरका पाठकले अधिकांश झापावासीका ढुकढुकी ओलीलाई हराउन ठूलै मूल्य चुकाउनुपर्ने हुन्छ । पाठकले आफू हुर्के-बढेको ठाउँ छाडेर झापाको ५ नम्बर क्षेत्र रोज्नुका पछि एमाले अध्यक्ष ओलीविरूद्धको अभियान भनेका छन् । लेखेर र विश्लेषण गरेर मात्रै देशको समस्या समाधान नहुने ठान्दै उनले जनताकै घरदैलोमा पुग्ने निर्णय गरेका हुन् । देशमा वैचारिक र राजनीतिक हस्तक्षेप जरूरी भएकाले शक्तितिर फर्किएको बताउने उम्मेद्वार हुन् । राजनीतिलाई जनतातिर फर्काउन र निराश मुलुकमा आशा ल्याउन झापा ५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएको उनी बताउँछन् ।
पाठक अन्य नेताभन्दा एमाले अध्यक्ष ओलीसँग अलिक आक्रोशित व्यक्ति हुन् । उनी नेपाली समाजलाई पश्चगमनतिर धकेल्ने सबभन्दा धेरै प्रयासरत नेता ओली भएको टिप्पणी गर्ने उम्मेद्वार हुन् । चुनावमा ओलीको क्षेत्रलाई ताक्नुका विभिन्न कारणहरु औंल्याउँछन् । उम्मेद्वारी दिएर परम्परागत धारमा हिँडेको समाजको ट्रयाक परिवर्तन गर्न खोजेको उनी तर्क गर्छन् । उनले ओलीले जितिरहेको ठाउँबाटै परिवर्तन खोजेका छन् । राज्य र जनतालाई जोड्न वर्तमान राजनीतिक प्रणालीभित्रै भिड्नुपर्ने उनको बुझाइ छ । ओलीको नेतृत्व दक्षिणपन्थी धारतिर गएकाले त्यही क्षेत्रबाट प्रगतिशील धार खोजेको उनी बताउँछन् ।
‘युरोपियन औपनिवेशिक चक्रव्यूह’ले बनाएको राजनीतिक प्रणालीले निर्माण गरेको धारभन्दा फरक राजनीतिक प्रणाली बनाउन खोजेको पाठक बताउँछन् । युरोपले पाँच सय वर्षअघि निर्माण गरेको राजनीतिक, सांस्कृतिक, वैचारिक, आर्थिकलगायतको घेराभन्दा बाहिर निस्किएर नयाँ धार बनाउन उनी साहस गर्दै छन् । युरोपियन औपनिवेशिक चक्रव्यूहले नेपाललाई कहाँ पुर्यायो भन्ने विषयमा उनी दिनरात चिन्तन-मनन् गर्दै छन् । युरोपियनहरुले भनेजसरी विकासको काम अगाडि बढाउँदा प्रगति नभएको बताउँदै उनले ओलीको क्षेत्रबाट आफूले जिते जनता र राज्यलाई जोड्ने काम गर्ने ठोकुवा गरेका छन् । आफूले चुनाव जिते यहाँ विकाससम्बन्धी फरक अभियान सञ्चालन गर्ने उनको सोच छ ।
माथिबाट नभई तलबाट राज्यसत्ता प्राप्त गर्दै आत्मनिर्भरको उपाय खोजी गरे युरो मोडेलको सिकार नेपाल नहुने उनको तर्क छ । भविष्य सोचेर विदेश जाँदा नेपालीको वर्तमान डाँवाडोल भएको उनी बताउँछन् । विकास कुनै महापुरुषले नदिने बताउँदै हजारौं युवा विदेश गएर वर्तमान होइन भविष्यको मात्रै जोहो गर्ने गरेको दाबी गर्छन् । आफ्नो भविष्य सोचेर विदेश हानिँदा देशको वर्तमान अवस्था बिग्रिएको पाठकको ठम्याइ छ ।
चुनावी गतिविधिमा लागेका पाठक भन्छन्, ‘चुनावी दौडको सिलसिलामा जनतालाई बुझाउन घरघरमा जाँदै छु ।’ जनताले अमेरिका हेर्ने आफ्नो माटो नहेर्ने, राज्यले विश्व बैंक सुन्ने, जनता नसुन्नेलगायतको परम्परा हटाउन तलैबाट सानो राज्यसत्ता बनाउनुपर्ने पाठकको दाबी छ ।
राजनीतिमा होमिएका पाठक गहन पुस्तक लेखेर चर्चामा आएका पात्र पनि हुन् । पाठकले लेखेको पुस्तक ‘माङगेना’ ले पञ्चायतकाल र त्यसभन्दा अघिदेखि संस्थागत गरिएका विचारधाराहरूमाथि प्रश्न गरेको छ । यस पुस्तकमा पुराना विचारधारा खारेज गर्नुपर्ने र नयाँ विचारधाराका आधारमा नेपाली समाजलाई चिन्ने र बुझ्ने वैचारिक अवधारणा विकास गर्नुपर्ने दलील प्रस्तुत गरिएको छ । पाठक शासकहरूको इतिहास लेखिए पनि आमनागरिकको इतिहास नलेखिएको जनाउँछन् । इतिहास लेखनको परम्परा पनि उनलाई पटक्कै मन परेको छैन । ’माङ्गेना’ मा नेपालको विकास अवधारणामाथि पनि प्रश्न गर्ने लेखक हुन् उनी ।
यस्तै, ‘उर्गेनको घोडा’ उपन्यासले सरल किसिमले एउटा परिवारको कथा बुनेको छ । एउटा गरिब परिवारको मान्छे सहरमा साँघुरो कोठा लिएर बसेको दृष्यबाट लेखन सुरु हुन्छ । उक्त परिवारले धेरै दुःखसुख गर्छ । घुम्दैफिर्दै कामको सिलसिलामा उक्त परिवार ठूलो सहरमा छिर्छ । सहरी वातावरणमा पुगेपछि त्यो परिवारले जिउन सिकेको कुरा, फेरि जिउने सिलसिलामा मध्यम वर्गमा उक्लिएको कथा पुस्तकमा छ । लेखकले दक्षिण एसियाको पारिवारिक परिवेशसँग मिल्ने गरी पुस्तक लेखेका छन् । २०६६ सालमा प्रकाशित उपन्यास ‘उर्गेनको घोडा’ अहिले बंगलाभाषीको बीचमा पनि पुगेको छ ।
स्वतन्त्र उम्मेद्वार भएर राजनीतिमा उदाउन खोजिरहेका पाठकले विभिन्न पत्रपत्रिकामा लेख, समाचार तथा खोजमूलक कथाहरु लेखेका छन् । समाचारको खेती गरेका लेखक दिमाग फराकिलो बनाउँदै पुस्तक लेखनको अवस्थासम्म पुगेका हुन् । लेखन तथा राजनीतिक विश्लेषकको पहिचान बनाएका उनले राजनीतिका एक हस्ती ओलीलाई चुनौती दिइरहेका छन् । उनको राजनीतिक भविष्य कस्तो हुने हो भन्ने कुरा आगामी मंसिर ४ गतेको मतपरिणामले धेरै हदसम्म प्रस्ट्याउनेछ ।
केशव भट्टराई
