• ट्रेण्डिङ्ग :
जिम्मेवार निकायको लापरबाही
दोब्बर भाडा असुल्दै निजी एयरलाइन्स

दोब्बर भाडा असुल्दै निजी एयरलाइन्स


  • 6.8K
    SHARES
    • आश्विन ३०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    दोब्बर भाडा असुल्दै निजी एयरलाइन्स

    जुम्ला । अविरल वर्षाका कारण जुम्लामा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ । कर्णाली राजमार्ग अवरुद्ध छ । पूर्ण रुपमा सञ्चालन हुन लामो समय लाग्ने प्रष्ट छ । यहीँ मौका छोपेर जुम्लामा निजी वायुसेवा कम्पनीहरूले मनलाग्दो भाडा असुली गरिरहेका छन् ।

    images

    अहिले जुम्लाको एक मात्रै यातायात भनेको हवाई सेवा बनेको छ । नियमित उडान नभरेर चार्टर्ड उडान सुरू गरेका छन् ।  एकतर्फी मात्रै यात्रु हुने र सञ्चलान खर्च धान्न नसक्ने भन्दै वायुसेवा कम्पनीहरूले  अत्यधिक भाडा लिएर टिकट बिक्री गरिरहेका हुन् ।

    लोकसेवा आयोगको परीक्षा दिने विद्यार्थीहरु  जुम्लाबाट नेपालगन्जको भाडा प्रतिव्यक्ति १४ हजारसम्म तिरेको बताउँछन् ।  

    परीक्षा  दिने विद्यार्थी, गम्भीर बिरामी र विभिन्न प्रतियोगितामा भाग लिने खेलाडीलाई प्राथमिकता दिएर उडान भर्न जुम्ला प्रशासनले लिष्ट बनाएको थियो । त्यसैका आधारमा प्रशासनले प्रवेश पत्र मागेर परीक्षा दिने मिति  हेरेर विद्यार्थी हवाई सेवामार्फत् पठाएको थियो । जसमा ३८ जना विद्यार्थी, १३ जना खेलाडी, दुई जना बिरामी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् ।

    प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले हिमा गाउँपालिका राहत पुर्‍याउन आएको सेनाको हेलिकोप्टरलाई  अनुरोध गरेर ६ जना विद्यार्थीलाई पठाएको बताए । केही बाहिर जाने विद्यार्थी, बिरामीलाई पठाइएको हो ।

    केशरीले बताए, ‘प्रशासनले हवाइको टिकट बाँड्ने होइन । गुनासो गर्न आएका नागरिकको समस्या समाधानको लागि पहल गरिदिने हो । गरिरहेका छौं ।’

    यति मात्रै नभइ जुम्लामा लामो समयदेखि निजी वायुसेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाइरहेको अवस्था छ ।

    एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिकाअनुसार उडान नभएको नागरिकको गुनासो छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने भए पनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्रीवितरण गरिरहेका छन् ।

    नियमित उडानभन्दा चार्टर्ड

    नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार अक्टोबर महिनाको १५ दिनमा समिट एयरले  सात वटा  उडान भरेको छ । जसमा चार वटा नियमित र तीन वटा चार्टर्ड उडान भरेको हो भने तारा एयरले  चार वटा उडान भरेको छ । जसमा एक चार्टड  उडान गरेको छ । नेपाल एयरलाइन्सले एक वटा उडान मात्रै गरेको छ ।

    जुम्लाबाट समयमै तालिका अनुसार यात्रा गर्ने यात्रुको भाडादर ६ हजार ९ सय छ । तर, चार्टर्ड उडानका लागि १४ हजार तिर्ने गरेका छन् । यस्तै नेपाल एयरलाइन्सले ६ हजार ५ सय ७५ लिँदै आएको छ ।

    प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिकाअनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका छ । नेपाल एयरलाइन्सले आइतबार उडान भर्नुपर्छ हुन्छ ।

    तर, पछिल्लो समयमा नेपाल एयरलाइन्सले आइतबार उडान भर्ने तालिका कागजमै सीमित राखेको छ । जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने नेपाल एयरलाइन्सले महिना तीन वटा मात्रै उडान भर्ने गरेको छ । जसकारण, जुम्लावासी निजी एयरलाइन्सलाई महँगो भाडा तिर्न बाध्य छन्। 

  • सम्बन्धित विषय:

  • # दोब्बर भाडा

  • तेस्रो आँखा
    लेखकबाट थप