काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उमेदवारीका लागि बहालवाला पदबाट असोज २३ गते अघि नै दिएको राजीनामा स्वीकृत गर्न निर्देशन दिएको छ ।
आज बसेको आयोगको बैठकले प्रत्यक्षतर्फको उमेदवारी मनोनयको दिन असोज २३ गते अघि नै दिएको राजीनामा सोही दिनबाटै लागु गर्न निर्देशन दिएको हो ।
आयोगको निर्णयमा भनिएको छ, 'मिति २०७९\६\२३ गते भन्दा अगाडि नेपाल सरकार, प्रदेश सरकार स्थानीय तह, कनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संगठित संस्था वा नेपाल सरकारको अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको कुनै पदाधिकारी वा कर्मचारीले राजीनामा पेश गरेको भएमा त्यस्तो राजीनामा पेश गरेकै मितिबाट लागू हुने गरी स्वीकृत गर्न सबै सम्बन्धित निकायलाई निर्देशन दिने र निर्देशन कार्यान्वयनका लागि सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखि पठाउने' ।
