• ट्रेण्डिङ्ग :
के हो झापा, मोरङ र सुनसरीमा चलाइएको ‘वेलकम होम’ परियोजना ?

के हो झापा, मोरङ र सुनसरीमा चलाइएको ‘वेलकम होम’ परियोजना ?


  • 5.5K
    SHARES
    • आश्विन ३१, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    के हो झापा, मोरङ र सुनसरीमा चलाइएको ‘वेलकम होम’ परियोजना ?

    काठमाडौं । वैदेशिक रोजगारीमा गएर फर्किएकालाई स्वदेशमै टिकाउनका लागि ‘वेलकम होम’ परियोजना सञ्चालनमा आएको छ । प्रदेश नं १ को झापा, मोरङ र सुनसरीमा यो परियोजना सञ्चालनमा आएको हो । 

    images

    कथा नेपालले आइतबार भद्रपुरमा ‘मिडिया अन्तर्क्रिया’ आयोजना गरी परियोजनाबारे जानकारी दिएको छ । कथा नेपालका नेसनल को-अर्डिनेटर ताराप्रसाद बडहरियाले विदेशबाट दुःख पाएर फर्किका, ज्ञान–सीप लिएर आएकालाई आर्थिक एकीकरण सहयोग गर्ने उद्देश्यले परियोजना सञ्चालनमा आएको बताए ।

    परियोजनाअन्तर्गत विदेशबाट फर्किएकाका लागि रोजगारी सिर्जना, क्षमता अभिवृद्धि, विदेशमा प्राप्त गरेको ज्ञान–सीपलाई स्वदेशमै प्रयोग गर्ने अवस्था बनाउनेलगायतका क्रियाकलाप गरिने जनाइएको छ । उनले भने, 'श्रम बजारमा भोगेका समस्यालाई पहिल्याउने र समाधान गर्ने कार्ययोजना छ, विदेशबाट फर्किएर पुनः विदेश नै जानुपर्ने अवस्था रहेको छ । आवश्यक तालिम दिएर रोजगारीमा फर्काउने र समाजमा स्थापित गर्ने काम गर्छौं ।'

    कार्यक्रममा पौरखी नेपालकी मञ्जु गुरुङले विदेशबाट फर्किंदा घरपरिवार र सम्पत्ति दुवै नरहने कतिपय टिठलाग्दो अवस्था रहेको बताए । 'अझ विदेश गएरका र फर्किएका महिला बढी समस्यामा छन्,' उनले भनिन्, 'उनीहरुलाई सम्मानका साथ समाजमा स्थापित गर्ने काम गरिरहेका छौँ ।'

    रोजगारीको खोजीमा नेपाली जनशक्ति विदेशिरहेको अवस्था एकातिर छ भने स्वदेशमा श्रमशक्ति अभाव हुँदा छिमेकी मुलुकबाट धेरैले काम गरिरहेको अवस्था छ । उनीहरुलाई आवश्यक तालिम, परामर्श दिने र स्वदेशमै टिकाउने सोचका साथ परियोजना अघि बढाइएको जनाइएको छ ।

    कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भद्रपुर नगर क्षेत्रबाट करिब पाँच हजार वैदेशिक रोजगारीमा गएको बताए । 'त्यति नै मान्छे विदेशबाट फर्किएका छ,' नगर प्रमुख पोखरेलले भने, 'वैदेशिक रोजगारीका क्षेत्रमा धेरै समस्या छन्, पालिकास्तरबाटै हामी काम गर्ने सोचमा छौँ ।' नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका र जानेका लागि वित्तीय साक्षरता, परामर्श, उद्यमशीलतालगायतको काम गर्दै आएको र केही उपलब्धिसमेत हासिल भएको नगर प्रमुख पोखरेलले बताए ।

    यस्तै, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले वैदेशिक रोजगारलाई एउटा अवसरका रुपमा हेरिनुपर्नेमा अनिवार्यजस्तै बनेको बताए । 'निर्वाहमुखी कृषि र वैदेशिक रोजगारीले अर्थतन्त्र धानेको छ,' उनले भने, 'यसले गरिबी निवारणमा केही हदसम्म काम गरे पनि दीर्घकालीन फाइदा गर्दैन ।'

    दैनिक दुई हजार तीन सय नेपाली विदेशिइरहेको र तीनदेखि पाँचको शव नेपाल भित्रिरहेको टिठलाग्दो अवस्था रहेको उनले उल्लेख गरे । यस्तो अवस्था अन्त्यका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीले विदेश नगई हुने अवस्था रहेकाले सोको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । 

    'सबैको सहयोग र प्रयासबाट मात्र सम्भव छ,' उनले भने, 'हामी आफैँले केही गर्नुपर्ने बेला आएको छ । वेलकम होम परियोजना जिल्लाभर सञ्चालनमा आइसकेको कथा नेपालले जनाएको छ ।


    तेस्रो आँखा