काठमाडौं । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रबहादुर सिंहलाई नेपाल प्रहरीको ‘लाइफटाइ अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । ६७औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई अवार्ड प्रदान गरेका हुन् ।
पूर्वएआईजी सिंहले अमेरिकाको भर्जिनियास्थित एफबीआई एकेडेमीबाट नेसनल एकेडेमिक ग्राजुएसन र बेलायतको लेस्टर विश्वविद्यालयबाट फौजदारी न्याय तथा प्रहरी व्यवस्थापन विषयमा पोस्ट ग्राजुएट सर्टिफिकेसन कोर्स पूरा गरेका थिए ।
सिंहले २०६३ मा प्रहरीबाट अवकाश पाएका थिए । २०३३ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका राजेन्द्रबहादुर सिंह १९९१ मा युगोस्लाभियामा युद्ध हुँदा वार क्राइमबारे अनुसन्धान गर्न त्यहाँ खटिएका थिए । बेलायतमा प्रहरी अधिकृतको पास आउट समारोहमा गएर आफूले सलामी ग्रहण गरेको सिंहले कार्यक्रममा बताए ।
