काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप गरेको छ । सोमबार केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दिएको उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा पार्टीले गरेको कारबाही आवश्यक प्रक्रिया पुर्याई फुकुवा गर्ने जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, 'तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरुपमा सक्रिय रहने प्रतिवद्धतासहित २०७९ कात्तिक ४ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याई फुकुवा गर्ने ब्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।'
कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवार रहेको ठाउँमा बागी उम्मेदवारी दिनेलाई निष्कासनको कारबाही गरेको थियो । यदि उम्मेदवारी निष्क्रिय बनाए भने कारबाही नगर्ने कांग्रेसको भनाइ छ । सत्ता गठबन्धनले २६ असोजभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।
