• ट्रेण्डिङ्ग :
‘जनयुद्ध’ ले जन्माएको ‘नारी शक्ति’

‘जनयुद्ध’ ले जन्माएको ‘नारी शक्ति’


  • 5.5K
    SHARES
    • कार्तिक १६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    ‘जनयुद्ध’ ले जन्माएको ‘नारी शक्ति’

    एमाले महासचिव शंकर पोख्रेललाई हेभिवेट भनिएपनि सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्मा आफ्नो जीतलाई सहज देखिरहेकी छिन् । सिंगो गठबन्धनको पुरापुर मत उनको पक्षमा रहे रेखाका लागि सहज जीत पक्का छ । फलतः गठबन्धनमा आवद्ध दलहरुको मत जोगाउने योजना सफल पार्ने योजनामा उनि छिन् ।

    images

    त्यसोत, उनको राजनीतिक लगाव र योगदान कम भने हैन । तत्कालीन १० बर्षे ‘जनयुद्ध’ छिचोलेर राजनीतिको मूल प्रवाहमा आईपुग्दाका उनका अनुभुतीहरु निकै दुखदायी छन् । त्यो दुखले खारिएर अहिले आफूलाई चुनावी मैदानमा उतारेकी रेखाले आफ्नो चुनावी लडाईँलाई अधिकार प्राप्तीको लडाईका रुपमा अथ्र्याउँछिन् । दुई पटक सांसद संगै एक पटक मन्त्री बनिसकेकी रेखाले आफ्नो ‘ओज’ लाई पनि जीतका लागि काफी देखेकी छिन् ।  
    ‘हिँजो मेरो सुरुवाती राजनीति अधिकार प्राप्तीका लागि थियो,’ उनले भनिन् ‘अहिलेको लडाई पनि त्यहि अधिकार प्राप्तीका निम्ती नै हो ।’ द्धन्दका क्रममा लागेको चोटले कुँजो बनेको शरिरलाई मतदातासंगको साक्षात्कारका निम्ती बस्ती बस्तीमा कुदाईरहनु परेको छ रेखाले । ‘द्धन्दमा पाएको चरम यातनाले ढाड अहिले पनि दुख्छ,’ उनले भनिन् ‘तथापी आम नागरिकले पाउनु पर्ने अधिकारका निम्ती मैले मेरो कुँजो शरिरलाई बिश्राम दिन मिल्दैन ।’ 

    दाङ घोराही  रझेनामा २०२६ असोज ९ गते बाबु गिरीराज शर्मा र आमा स्व.पार्वति पौडेलको कोखबाट जन्मीएकी रेखाले २०४३ सालदेखि विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीतिक जीवन शुरुवात गरेकी थिइन् । दाङ स्थित महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक तह उत्र्तिण गरेकी रेखा पढाईका क्रममा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष समेत भइन् । त्यसपछि उनी २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष भइन् । २०५० सालमा भएको राष्ट्रिय भेलाबाट उनी अनेमसंघको केन्द्रीय सदस्य बनिन् ।

    त्यतिबेला उनी माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्य समेत भएकी थिइन् । माओवादी राजनीतिक यात्राका क्रममा उनको बिवाह २०५१ मा प्यूठानका कृष्णध्वज खड्कासंग भयो । 
    खड्का अहिले लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री हुन् । माओवादी राजनीतिक यात्राका क्रममा शर्मा र खड्का एकअर्का संग त्यति घुलमिल भने थिएनन् । उनिहरु बिच राजनीतिक साईनो मात्रै थियो । अपरिचित उनिहरु मध्य खड्काको रोजाईमा रेखा परिसकेकी थिईन् । ‘तर मलाई यो कुरा थाहा थिएन,’ उनले भनिन् ‘हामी राजनीतिक सहयात्री भएपनि त्यो बाहेक मैले उहाँलाई अरु सोचेको थिएन ।’ खड्काले नै शर्मासंग बिवाह गर्ने प्रस्ताव पार्टी समक्ष राखे ।

    पार्टीले रेखा अनि उनको परिवारसंग बिवाहका लागि प्रस्ताव गर्यो । शर्मा अनि उनको परिवारले विवाहको सहमती दिए । 
    ‘पार्टीको प्रस्तावमा परिवारले मेरो विवाह गरिदियो,’ उनले भनिन् ‘हाम्रो प्रगतीशिल बिवाह भएको हो ।’ खड्का अनेरास्ववियुका केन्द्रयि अध्यक्ष बनेका कारण उनि काठमाडौँमै बस्थे , अनि अनेमसंघको केन्द्रीय सदस्य बनेकी रेखा पनि श्रीमानसंगै काठमाडौँमा बस्न थालिन् । त्यसैबेला जनयुद्ध सुरु भयो । उनिहरु दुबै जना अर्धभुमिगत बने ।  उनी २०५३ साल देखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारी को केन्द्रीय अध्यक्ष बनेकी रेखाले आफ्नो नेतृत्वमा सिंहदरबार भित्रै २०५५ मा गरेको आन्दोलनलाई उनले ठूलो उपलब्धी मान्छिन् ।

    पैत्रिक सम्पत्ति माथि महिलाहरुको समेत समान अधिकार हुनुपर्छ भन्दै शर्माको नेतृत्वमा महिलाहरुको समूह त्यो बेला छापामार शैलीमा सिंहदरबार प्रवेश गरेर नाराबाजी गरेको थियो । ‘अहिले पैत्रिक सम्पत्ति माथि पनि महिलाहरुको समान अधिकार रहने कानुन बनेको छ,’ उनले भनिन् ‘मैले यो मुद्धा कार्यान्वयन हुनुपर्छ भनेर २०५५ सालमा  छापामार शैलीमा सिंहदरबार भित्रै छिरेर नाराबाजी गरेकी थिएँ, त्यो बेला म लगाएत महिलासाथीहरु पक्राउ पनि पर्यौँ ।’ २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट उनी पार्टीको केन्द्रीय सदस्य र काठमाडौं उपत्यमा उपब्युरोको प्रमुख बनिन् । 

    २०५८ मा मुलुकमा संकटकाल लागु भएपछि रेखाको परिवारमा संकट आईलाग्यो । माओवादी सहित उसका जनवर्गीय संगठन समेतका नेताहरुलाई समेत नियन्त्रणमा लिने राज्यको पहिलो निशानामा रेखा अनि उनका श्रीमान कृष्णध्वज परे । उनिहरु ०५८ चैतमा काठमाडौँ चाबहिल स्थित आफ्नै डेराबाट पक्राउ परे । तत्कालीन सेनाको नियन्त्रणमा लिएपछि रेखाले नर्ककै अवस्था भोग्नु पर्यो । ‘त्यहाँ भित्र भएका अत्याचारको बर्णण्न गरेर साध्य नै छैन,’ उनले भनिन् ‘नांगो बनाएर पिच रोडमा घिसार्ने देखि बुट बजारिएका कैयन यातनाले बाँच्ने साहश मरेर आउँथ्यो ।’ नियन्त्रणमा आएको एक बर्ष पछि ०५९ चैतमा उनिहरु मुक्त भए । 

    रेखाका अनुसार तत्कालीन राज्य पक्ष र माओवादी पक्षबिच २०५८ माघमा वार्ताको वातावरण बन्दै थियो । वार्ताका लागि माओवादीले रेखा र उनका श्रीमान कृष्णध्वजको रिहाईलाई प्रमुख सर्त बनाएको थियो । ‘त्यसपछि हामीहरुलाई लगाईदिएको मुकुण्डो पनि हटाईयो,’ रेखाले भनिन् ‘हामीहरु माथि यातना पनि रोकिँदै गयो, अनि ०५९ चैतमा हामीहरु रिहाई भयौँ ।’ 
    सेनाको ब्यारेकबाट निस्कदा रेखा र उनका श्रीमान कृष्णध्वज दुबै कुँजो भएर निस्के । रेखाको मेरुदण्डको हड्डि भाँचिएको थियो भने उनका श्रीमान कृष्णध्वजको हात, खुट्टा र करङ भाँचिएको रेखा बताउँछिन् । ‘ब्यारेक बाट निस्केपछि हामीहरु भारतमा बसेर तीन बर्ष सम्म उपचार गर्यौँ,’रेखा भन्छिन् ।

    रेखाले महिला संगठनको केन्द्रीय अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरेर पार्टी अध्यक्ष प्रचण्डको मन युद्धकालमै जितेकी थिइन् । युद्धकाल देखि नै प्रचण्डले रेखालाई विश्वास पात्रको रुपमा लिन थालेका थिए । उनी अहिले स्थायी समिति जस्तो माओवादीको शिर्ष तहमा छिन् । २०७० सालमा संविधान सभामा समानुपातिक सांसद बनेकी रेखा त्यतिबेला डा. बावुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरेकी थिइन् । उनि त्यो बेला माओवादीको प्रमुख सचेतक समेत बनेकी थिईन् । त्यसैबेला उनि सामान्य प्रशासन मन्त्री समेत बनिन् । 

    रेखालाई गठबन्धनको बलियो आड

    आफ्नो राजनीतिक कालखण्डको धेरै जसो समय रेखाले काठमाडौँमै बिताईन् । फलतः उनि दाङका मतदाताहरुसंगको सामिप्यतामा कमै रहिन् । फलतः अहिलेको निर्वाचन उनका लागि मतदाताहरुसंगको सामिप्यता कस्ने गतिलो आधार समेत बनेको छ । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी रेखाको जीतका लागि सिंगो गठबन्धन पुरापुर सकृय देखिएको छ ।

    फलतः गठबन्धनमा आवद्ध दल र दलका नेता प्रति मन माझ्ने उच्चतम कसरतमा गठबन्धनमा आवद्ध दलहरु छन् । ‘राष्ट्रि र राष्ट्रियता जोगाउनका निम्ती गठबन्धन अपरिहार्य बनेको हो,’ कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्का भन्छन् ‘यो गम्भिर मुद्धामा केन्द्रीत भएर हामी गठबन्धनमा आवद्ध दलका नेता र कार्यकर्ताहरु एक भएर चुनावमा लाग्नु पर्छ, र गठबन्धनमा आवद्ध दलको मत बाहिर जाँदैन पनि ।’ उनले कांग्रेसको मत गठबन्धन तर्फ केन्द्रीत गर्नका लागि पार्टीका हरेक ईकाईहरुलाई चुनावी अभियानमा परिचालन गरिएको समेत बताए ।


    तेस्रो आँखा