प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन् । आईतबार डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटकपटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग उल्लेख गरे ।
‘अहिलेको सरकार गठबन्धनको सरकार हो”, उनले भने ‘गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।’ वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उनको भनाइ छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो
डडेल्धुराका जनताले मत दिएर सहयोग गरेर आफूू पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले आलिताल भित्रिमधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने जानकारी दिए ।
‘पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्रीसित कुराकानी भएको छ”, उनले भने ‘त्यहाँ सम्भाव्यता अध्ययन गर्छौैं, मिले पक्की पुल नभए झोलुङ्गे पुल भएपनि बनाउनेछु ।”
