नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई पाँच पाण्डवको संज्ञा दिएका छन् । सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच ‘पाण्डव’ विरुद्ध ‘कौरव’ हरु समूह देखा परेको बताए।
‘एकातर्फ पाँच पाण्डवहरु एकढिक्का भएर अघाडि बढेका छौं, अर्कोतिर कौरवको समूह राजा फिर्ता गर्न, सामन्ती निरंकुशतातर्फ देशलाई फर्काउन, नेपाली जनताले पाएका अधिकार खोस्न कसरत गरिरहेका छन्,’ दाहालले भने, ‘त्यसैले मंसिर ४ को निर्वाचन पाण्डव र कौरवहरुकोबीचको महाभारत जस्तो हुँदैछ, त्यसैले परिवर्तन, संविधान, लोकतन्त्र र समावेशीताको पक्षमा मत जाहेर गर्नुपर्नेछ।’
उनले गठबन्धनले संविधानको रक्षा गर्दै कोरोना नियन्त्रण, संविधानको मर्म र भावना अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न सफल भएको बताए।
