• ट्रेण्डिङ्ग :
महोत्तरी–४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

महोत्तरी–४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा


  • 3.9K
    SHARES
    • कार्तिक ३०, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    महोत्तरी–४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी–४ मा प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । 
     
    महोत्तरी–४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार राय र एमाले–जसपा गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालका केन्द्रीय सदस्य डा सुरेन्द्रकुमार यादवसहित प्रतिनिधिसभा सदस्य पदमा १४ उम्मेदवार छन् । जसमा स्वतन्त्र उम्मेदवारहरु ६ जना छन् । चुनावी प्रतिस्पर्धामा दुई गठबन्धनका अतिरिक्त जनमत पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा नेपालसहितका दलका उम्मेदवार छन् । 

    images

    यद्यपि यहाँ निवर्तमान सांसद डा. यादव र कांग्रेस केन्द्रीय सदस्य रायबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिँदैछ ।  
    यसअघि २०७४ मा डा. यादव वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मोहम्मद रजि हैदरलाई पछि पार्दै विजयी भएका थिए । त्यतिखेरका मुख्य प्रतिस्पर्धी हैदर अहिले रायको पक्षमा छन् ।  

    सत्ता गठबन्धनबाट राय उम्मेदवार छन् । त्यसबाहेक सत्ता गठबन्धनआवद्ध माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपाका नेता–कार्यकर्ता रायको पक्षमा जुटेका छन् । यो गठबन्धनआवद्ध राष्ट्रिय जनमोर्चाको भने यहाँ गतिविधि देखिँदैन । त्यसैगरी जसपा र एमालेका नेता कार्यकर्ता डा यादवको पक्षमा जुटेका छन् ।

    खुला प्रचारको अवधि सकिनै लाग्दा उम्मेदवारले प्रचार अभियान झन तीव्र बनाएका छन् । जसपाका डा यादव पनि सहयोगी दल एमालेका स्थानीय नेतासाथ सघन भेटघाट र एकै दिन कैयौँ ठाउँमा कोणसभा गरिरहेका छन् । 

    महोत्तरी–४ मा औरही नगरपालिकाका छ, मनराशिवा नगरपालिकाका सात, रामगोपालपुर नगरपालिकाका नौ (सबै), सम्सी गाउँपालिकाका सात (सबै) र सोनमा गाउँपालिकाका आठ (सबै) गरी जम्मा ३७ वडा समेटिएका छन् । प्रदेशसभा (१) मा १८ र प्रदेशसभा  (२) मा १९ वडा छन् । 

     


    तेस्रो आँखा