• ट्रेण्डिङ्ग :
मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले


  • 3.3K
    SHARES
    • मंसिर ३, २०७९ शनिबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

    ढोरपाटन, ३ मङ्सिर (रासस) :  सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आएका छन् ।

    images

    गाउँमा कुनै काम नपाएपछि बागलुङ आउनुभएका पगरीलाई मङ्सिर ४ मा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ भन्ने थाहा छ । तर उनीयसपालि गाउँमा मतदान गर्न गएनन् । पटक–पटक मतदान गर्दै आउनुभएका पगरीले भोट दिएर जिताएका नेताले गरिब, दुःखी र मजदुरका लागि काम गर्न नसक्दा आफूहरू भौँतारिएर काम खोज्दै बागलुङ आउनुपरेको बताउँछन् ।

    ‘मैले अहिलेसम्म तीन–चारपटक भोट हालेर नेताहरूलाई जिताएँ तर, उनीहरूलाई जिताएर हामी गरिब जनताले केही पाएनौँ, नेताले पद पाए, पैसा कमाए, आफू बने, आफ्ना नातागोता र आसेपासेलाई गतिलो बनाए, हामी भोट हालेर जिताउनेले गाउँमा एउटा सामान्य रोजगार पनि पाएनौँ”, पगरीले भने, ‘त्यही भएर अहिले गाउँमा भोट हाल्न गएनौँ, नेताज्यूले फोन त गर्नुभएको थियो तर यति टाढाबाट हजारौँ खर्च गरेर जानु पर्छ, उता गए खर्च बढ्छ, यहाँ काम गरे थोरै भए पनि कमाइन्छ ।”

    काभ्रेका २१ वर्षीय दिपेश मगर पनि पगरीकै समूहमा काम गरिरहेका छन् । गाउँमा चुनावी रौनक सुरु भएपछि बागलुङ पुगेका मगरलाई निर्वाचनबारे कुनै चासो छैन । परिवारमा आर्थिक समस्याका कारण मजदुरीका लागि बागलुङ आएको बताउने मगर दुईपटक मतदान गरेको अनुभव सुनाउँछन् । नेताका आश्वासनका कारण विदेश जानबाट रोकिएका मगर बाध्यताले बागलुङ सम्म आएको बताउँछन् ।

    ‘म रहरले बागलुङमा काम गर्न आएको होइन, मेरो परिवार निकै गरिब छ, राम्रोसँग खानलाउन पुग्दैन, स्थानीय तहको निर्वाचन आउनुभन्दा केही दिन अगाडि म विदेश जानका लागि तयारी गरेको थिएँ, गाउँका एक जना नेताले म तिमीलाई काम दिलाइदिन्छु भनेर भन्नुभयो, चुनाव जितेको यतिका महिना बितिसक्दा पनि केही काम नपाएपछि म यहाँ आएको हुँ”, मगरले भने, ‘विदेश जान लागेको मान्छेलाई यही काम दिलाउने भनेर आशा देखाए, अहिले यति टाढा आएर काम गर्नुपरेको छ, गाउँमा एउटा सामान्य काम मिलाइदिएको भए म किन यहाँ आउनुपथ्र्यो र ?”

    मगरले एक दिन काम नगरे खान नपुग्ने भन्दै मतदान गर्ने चाहना भए पनि धेरै खर्च लाग्ने हुँदा जान नसकेको बताए । चुनावमा भोट हाल्दा राम्रो मान्छेले पनि जित्न सक्ने भन्दै गाउँभन्दा धेरै टाढा हुँदा जान नसकेको उनी बताउँछन् । मगरले आफूले पहिलोपटक मतदान गर्ने अवसर गुमाएकामा दुःख व्यक्त गरे ।
     

    रामेछापका २३ वर्षीय दिनेश खत्री पनि दुई महिनादेखि यही सडकखण्डमा ढुङ्गा बोक्ने र गिट्टी, बालुवा मुछ्ने काम गर्दै आएका छन् । उनले रामेछापबाट बागलुङसम्म रहरले नभई बाध्यताले आउनुपरेको बताए  । उनी गाउँ नजिक रोजगार नपाएपछि दुई महिना अगाडि यहाँ आएको बताउँछन् । चुनावका लागि गाउँबाट भोट हाल्न नेताहरूको फोन आए पनि वास्तै नगरी काम गरिरहेको खत्रीको भनाइ छ ।


    लोकमार्गको घोँडाबाँधेबाट गलकोटको नरेठाँटीसम्म सिन्धुपाल्चोक, काभ्रे र रामछापका दुई सयभन्दा बढी कामदार मतदान गर्न गाउँ फर्किएनन् । अघिल्लो निर्वाचनमा नेताहरूले गरेको बाचा पूरा नगरेपछि  निराश भएर यसपालि भोट हाल्न गाउँ नगएको उनीहरू बताउँछन् ।


    तेस्रो आँखा