‘बर्षौँ सम्म यीनै (ठूला दलहरु) लाई भोट हालेर हामीले के पायौँ,’ नारायणपुर मतदान केन्द्रमा मत हाल्न पुगेका दाङ क्षेत्र नम्बर २ का मतदाता श्याम चौधरी भन्दै थिए ‘अब दल र ब्यक्ति फरक चुन्नु पर्छ भनेर ठूला नेतालाई भोट हालेन ।’ मतदान गरिसकेको बताएका उनले आफ्ना निकटस्थलाई पनि उसैगरि सुझाईरहेका थिए ‘अब भोट नयाँलाई हाल्नु ।’
यो क्षेत्रमा एमालेबाट महासचिव शंकर पोख्रेल प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् भने सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा उम्मेदवार छिन् ।
यि दुबै हेभिवेटलाई श्यामले मतदान गर्न रुचाएनन् । उनले भने ‘नेता ठूला मात्रै भनेर के गर्ने ? हामी साना जनतालाई नहेर्ने नेतालाई भोट हालेर के काम ?’ श्यामसंगै मतदान केन्द्रमा भेटिएका उनका छिमेकी रबिन चौधरीको रोजाईमा पनि हेभिवेटद्धय पोख्रेल र शर्मा परेनन् । उनले यी दुबै हेभिवेटको बिकल्पमा बैकल्पिक शक्ति रोजे । उनले भने ‘मैले घण्टिमा भोट हालेँ,नयाँले केहि गर्छन् कि भन्ने आश लागेको छ ।’
ठूला राजनीतिक शक्तिका दुई हेभिवेटको मुख्य प्रतिष्पर्धा देखिएको दाङ २ मा नयाँ शक्ति बैकल्पीक शक्ति बनेर आउने चर्चा चुनाव अघि नै बाक्लीईसकेका थिए । मूलतः यो क्षेत्रमा रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जनमत तान्ने र त्यसको असर प्रमुख दलका उम्मेदवारलाई पर्ने आँकलन गरिएका थिए । मतदानकै दिन पनि यो क्षेत्रका अधिकांश मतदान केन्द्रहरुमा यो शक्तिको चर्चा बाक्लो बन्यो । ‘केहि आश नयाँ बाटै हुने रैछ,’ घोराही ११ हापुर स्थित मतदान केन्द्रमा भेटिएका पवन नेपालीले भने ‘पुरानालाई हेरि सक्यौँँ,अब नयाँले केहि गर्ला कि भन्ने आश लाग्यो ।’ यो क्षेत्रमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बिशाल अधिकारी उम्मेदवार बनेका छन् ।
दाङकै अर्का हेभिवेट नेता भिडेको क्षेत्र नम्बर ३ मा बैकल्पीक शक्तिको चर्चा अझ बढि चल्यो । यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी प्रतिनिधिसभा सदस्यका लागि भिडेका छन् भने एमालेबाट कोमल ओली भिडेकी छिन् । हेभिवेट नेताहरुको भिडन्त देखिएको यो क्षेत्रमा पनि निर्वाचन अगावै ‘घण्टी’ चर्चा बाक्लीएको थियो । मतदानका दिन यो चर्चा त्यहाँका अधिकांश मतदान केन्द्रहरुमा अझ बढि चलेको थियो । ‘हामीहरुले अहिले सम्म भोट हालेर के भयो र ?’ तुलसीपुर ११ स्थित मतदान केन्द्रमा भेटिएका रमण थारुले भने ‘त्यहि भएर अब नयाँ पार्टी र नयाँ ब्यक्तिलाई मत हालियो ।’
यो क्षेत्रमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कमल सुवेदी उम्मेदवार बनेका छन् ।
मतदानका दिन यो क्षेत्रमा यो शक्तिको मत निर्णायक बन्ने चर्चा ब्याप्त थियो । ठूला दलहरुको मत भारी रुपमा काट्न सक्ने र प्रमुख दल बिचको प्रतिष्पर्धाको जीत हारको निर्धारण घण्टिले गर्ने मतदाताहरुका बिचमा ब्यापक छलफल चलेका थिए । ‘ठूला दलका उम्मेदवारहरुको जीत हारको निर्णय घण्टीका उम्मेदवारको मतमा निर्भर हुने देखिन्छ,’ मतदान केन्द्रहरुमा छलफल चलेका थिए ।
उता दाङको क्षेत्र नम्बर १ मा भने दुई बैकल्पीक शक्तिको चर्चा बाक्लियो । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीसंगै नागरिक उन्मुक्ती पार्टी प्रति आममतदाको चासो बढेको देखिएको थियो । यो क्षेत्रमा सत्तागठबन्धनका तर्फबाट नेकपा एसका नेता तथा शहरी विकास मन्त्री मेटमणी चौधरी र एमालेका तर्फबाट शान्ता चौधरी उम्मेदवार छन् । यो क्षेत्रमा उन्मुक्ती पार्टीबाट डा. सुरेन्द्र चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक उम्मेदवार छन् । यो क्षेत्रमा पनि यी दुई नयाँ शक्ति प्रमुख दलका उम्मेदवारहरुको जीत हारका निर्णायक बन्ने लख काटिएका छन् ।
जिल्लाका तीनै निर्वाचन क्षेत्रमा देखिएको मतदाताहरुको यो भनोभावलाई दलहरुले राजनीतिलाई सकारात्मक रुपमा ‘डेलिभर’ गर्न नसकेको परिणामका रुपमा राजनीतिक बिश्लेषकहरुले ब्याख्या गरेका छन् । यसैको परिणाम अहिले घण्टिको चर्चाका रुपमा प्रकट भएको महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम बताउँछन् । ‘दलहरुले राजनीतिलाई जनचाहना अनुसार डेलिभर गर्न सकेनन्,’ गौतमले भने ‘यसैको परिणाम अहिले घण्टिले बढि चर्चा पाएको हो ।’
तर मतदाताहरुको यो भनोभाव बैकल्पीक शक्तिको खोजी मात्रै नभई दलहरुलाई उम्मेदवार छनौट लगाएतका प्रबृत्ति सुधार्नका लागि दबाब समेत रहेको गौतमको बिश्लेषण छ ।
तथापी अहिलेको मनोभावले मात्रै यी नयाँ राजनीतिक दलहरु बैकल्पीक शक्तिका रुपमा स्थापित भैसकेको मान्न नहुने भन्दै गौतमले अबको उनीहरुको गतिविधी र अर्को चुनावको परिणामले मात्रै त्यसलाई पुष्टि गर्ने बताए ।
