दाङ २ ( ख ) बाट नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने गुन्टु लुम्बिनी प्रदेशसभा सदस्य चुनिएका छन् । उनी एमालेका गिरीराज केसीलाई ७ सय बढि मतान्तरले पछि पार्दै निर्वाचित भए । पहिलो पटक जनप्रतिनिधि बन्ने दौडमा रहेका गुन्टु यो दौडमा सफल भएका छन् । लामो समय सम्मको विद्यार्थी राजनीतिले खारिएका उनी अब ‘माननीय’ बनेका छन् । घरायसी राजनीतिक वातावरणले उनलाई कांग्रेस राजनीतिमा लाग्न प्रेरित गर्यो । उनका बाजे जुद्धबहादुर न्यौपाने पहिलो संसदीय निर्वाचनमा निर्वाचित सांसद, अनि २०५० मा उनै न्यौपाने राष्ट्रियसभा सदस्यमा चुनिएका थिए । अनि उनका बाबु भरतबहादुर न्यौपाने कांग्रेसका क्षेत्रीय सभापति अनि जिल्ला विकास समितिका सदस्य थिए । परिवारका दुई सदस्यको होनहार कांग्रेस राजनीतिले गुन्टुलाई २०५० मा नेपाल विद्यार्थी संघमा लाग्न प्रेरित गर्यो । उनी स्कुले जीवनमै नेविसंघको ईकाई समितिको नेतृत्वमा रहेर काम गरे । स्कुले जीवन पछि उच्च शिक्षाका लागि काठमाडौँ पुगेका गुन्टु गगन थापाहरुको राजनीतिक पारिवारीक सदस्य बन्ने मौका मिल्यो ।
उनी बिए पढ्नका लागि उनी त्रिचन्द्र क्याम्पस हानिए । अनि यो कलेजको स्ववियुको सदस्यका लागि भिडे । जिते पनि । यो उनका लागि राजनीतिको अर्को महत्वपूर्ण ईनिङ थियो । स्ववियु सदस्यका रुपमा गगनहरुको शहरमा राजनीतिक पाईला टेकेका उनले ०६० मा झन ठूलो सफलता हात पारे । आफूलाई स्ववियु सचिवको हैसियतामा पुर्याएका गुन्टु अब नेतृत्वमा बसेर संगठनलाई चलायमान गराउन सक्ने हैसियत राख्थे । फलतः ०६२ मा उनी स्ववियुको सभापतिको उम्मेदवार बने । तर यो निर्वाचन उनी अनुकुलको भैदिएन ।
स्ववियू सभापतिमा भोग्नु परेको पराजयले उनलाई थकाएन, गलाएन । फलतः उनी यो क्याम्पसको नेविसंघको सभापति बने । ०६२ देखि ०६५ सम्म त्रिचन्द्रको नेविसंघ सभापति बनेका गुन्टुको राजनीतिक यात्रमा त्यसयता कतै पूर्णबिराम लागेन ।
त्रिचन्द्र क्याम्पसको नेविसंघको सभापति बनेका गुन्टु अब नेविसंघको नेतृत्व तह सम्म पुग्ने हिम्मत राख्थे । यो उनी भित्रको राजनीतिक अनुभव थियो न की रहर मात्रै । ईकाई सभापतिबाट नेविसंघको केन्द्रीय सहमहामन्त्री बन्ने शाहसलाई उनले आफ्नो सक्षमता मान्थे । उनि भिडे , निर्वाचित भए पनि । जति बेला नेविसंघको नेतृत्व प्रदीप पौडेलको हातमा थियो । काठमाडौँ केन्द्रीत विद्यार्थी राजनीतिक सफलताको कारण उनको मेहनत, कृयाशिलता थियो । सडकमा चल्ने हरेक आन्दोलनका सहयात्री थिए गुन्टु । २ महिना सम्म राज्य पक्षको नियन्त्रणमा रहेर राजनीतिक जीवनमा जेल सजाय भोग्नु परेको नमिठो घटनालाई पनि सहे उनले ।
०५८ मा राजाले ‘कु’ गरे । मुलुकमा दिनहुँ आन्दोलन चल्न थाले । दिनहुँ सडकमा आगो बलिरहन्थे । काठमाडौँ स्थित त्रिचन्द्र कलेजमा राज्य बिरोधी आन्दोलनका रुप रेखा बुनिन्थे । ०६१ मा त्रिचन्द्र क्याम्पसका स्ववियु सचिव उनै गुन्टु नै थिए । विद्यार्थी आन्दोलनको चरम रुप देखिने त्रिचन्द्रलाई राज्यले आफ्नो निगारानीमा राखिरहेको थियो
तथापी आन्दोलनले हार मानेन । बरु तत्कालीन राजाको रुट नै परिवर्तन गरिदिने गरि गुन्टुहरुले आन्दोलनको स्वरुप देखाए । दिनहुँ चर्किरहेका आन्दोलनले गुन्टुहरुलाई थप उत्तेजित र आक्रामक बनाउँदै लगिरहेको थियो ।
अनि उसैगरि राज्य पक्षको निगरानीमा उनी परिरहेका थिए । अन्ततः गुन्टु क्याम्पसबाटै गिरफ्तारीमा परे । राज्य पक्षको गिरफ्तारीमा परेको झण्डै दुई महिना पुगिसकेको थियो ।
आन्दोलन, संघर्ष अनि कांग्रेसको संगठन निर्माणका लागि अनेकन आरोह पार गरेका गुन्टु नेविसंघको राजनीति हुँदै पार्टी राजनीतिमा सकृय बन्ने योजनामा लागे । उनी लुम्बिनी प्रदेश कांग्रेसको सदस्यका लागि भिडे, निर्वाचित भए । अहिले उनी लुम्बिनी कांग्रेसका प्रवक्ता समेत हुन् ।
कांग्रेसको सकृय राजनीतिमा कृयाशिल उनी २९ बर्षे आफ्नो राजनीतिलाई जनप्रतिनिधिका माध्यमबाट थप साकार पार्ने योजनामा सफल बनेका छन् ।
