दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले विजय उत्सव मनाएको छ । गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरुले नव निर्वाचित जन प्रतिनिधिहरु सहित घोराहीमा र्याली गरेका थिए । यो क्षेत्रबाट प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार रेखा शर्मा, तथा प्रदेशसभा क्षेत्र १ मा राजु खनाल र २ मा प्रचण्ड विक्रम न्यौपाने विजयी भएका छन् । त्यसक्रममा र्याली पश्चात कोणसभा समेत गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले आफूहरुले चुनावमा जनता संग गरिएका प्रतिवद्धता पुरा गर्ने बताईन् ।
‘हामीहरुले हिँजो चुनावका क्रममा जुन बाचाहरु गरेका थियौँ, ति बाचाहरु पुरा गर्ने छौँ,’ शर्माले भनिन् ‘हरेक नागरिकलाई विकास प्रेमी जनप्रतिनिधिका रुपम रहने छौँ।’ यसैगरि २ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित राजु खनालले बिकास निर्माणका सवालमा आफू सदैव नागरिकसंगै रहने बताए । ‘विकास निर्माणका सवाल मुख्य रुपमा आएका छन्,’ उनले भने ‘यि सवालको समाधानको प्रत्याभुत हुनेगरि काम गर्नेछौँ ।’
यसैगरि दाङ(२)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले आफ्नो जीत समग्र मतदाताको जीत भन्दै निर्वाचनमा गरिएका प्रतिवद्धा पुरा गर्नबाट नचुक्ने बताए । ‘हामीहरुलाई असक्षम प्रतिनिधि भनेर भन्ने बाटो दिने छैनौँ,’ उनले भने ‘हिँजो चुनावका क्रममा जुन बाचा प्रतिवद्धता गरेका छौँ, ति बाचाहरु पुरा गर्नका लागि कुनै कसर बाँकी राख्ने छैनौँ ।’
यसैगरि जिल्लाको क्षेत्र नम्बर ३ मा पनि गठबन्धनले विजय जुलुस निकालेको छ । यो क्षेत्रमा पनि प्रतिनिधिसभा तथा प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । तुलसीपुरमा गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरुले विजय र्याली तथा कोणसभाहरु गरेका थिए । र्यालीमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित दिपक गिरी, प्रदेससभा सदस्यमा निर्वाचित डिल्ली चौधरी र धनबहादुर मास्की सहभागी भएका थिए ।
