४८ घण्टादेखि अवरुद्ध भएको उदयपुर १ को मतगणना सुचारु भएको छ। आइतबार बिहान १० बजे प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको प्रत्यक्षतर्फको १ सय मतपत्र भेटिएपछि अवरुद्ध भएको गणना मंगलबार १०ः३० देखि सुचारु भएको हो।
आइतबार बिहानदेखि अवरुद्ध गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेर पटक पटक प्रयास गरे पनि सहमति जुट्न नसकेपछि निर्वाचन आयोगलाई जिम्मा दिएको थियो। कार्यालयले आयोगको निर्देशन अनुसार गर्ने भन्दै ३ पटक गणना सुचारु गर्ने सूचना जारी गरे पनि हुन सकेको थिएन।
आइतबार ४ः०० बजेदेखि सुचारु गर्ने सूचना जारी गरेकोमा सहमति नजुटेपछि साँझ ७ः०० बजे बैठक बोलाएकोमा एमालेलगायत दलहरुले त्यसभन्दा अघि नै पुनः मतदानको माग गर्दै बैठक बस्न मानेनन्। त्यसपछि सोमबार बिहान ८ः०० बजे बस्ने गरी स्थगित भएको गणना दिउँसो १ः०० बजेदेखि थाल्ने अर्को सूचना जारी भयो।
त्यसबेलासम्म निर्वाचन आयोगले मतगणना गर्नुअघि भएको पूर्व सर्वदलीय सहमति अनुसार गणना कार्य जारी राख्न निर्देशनात्मक पत्र पठाएपछि कार्यालयले बैठक राख्दा पनि सहमति जुटेन। निर्वाचन अधिकृतको कार्यालयले पुनः आयोगकै मुख ताखेर पत्राचार ग¥यो। थप निर्देशन पर्खेर बसेको कार्यालयले सोमबार राति ८ः०० बजेदेखि गणना सुचारु गर्ने सूचना जारी गरे पनि दलीय सहमति नजुटेका कारण गणना हुन सकेको थिएन।
