निर्वाचन आयोगले निर्वाचनको अन्तिम मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाइ बुझाउने तयारी गरिरहेका बेला दलहरू पनि सरकार निर्माणको कसरतमा लागेका छन् । सत्ता गठबन्धनका नेताहरू सकेसम्म यहि गठबन्धनको नेतृत्वमा सरकार बनाउने तयारीमा लागेका छन् । तर नेकपा एमालेले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गरिरहेको छ । एमालेले औपचारिक रुपमा सरकार गठनको तयारी गरेको छैन यद्यपी अनौपचारिक रुपमा छलफल भने गरिरहेको छ । सत्ता गठबन्धनका नेताहरू भने आज सरकार गठनको भावी रणनिति बनाउनको लागि छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकमा यहि गठबन्धनलाइ निरन्तरता दिने र सरकारको नेतृत्व गर्ने बारेमा छलफल भएको छ । यद्यपी गठबन्धनबाट कसलाइ प्रधानमन्त्री बनाउने भन्नेमा सहमति भने जुटेको छैन । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको आकांक्षी रहनुभएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री बन्ने चाहना प्रकट गरिरहेका छन् ।
