कालिकोटको फुकोट जलविद्युत् आयोजनामा काम गरिरहेको डोजर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। दुर्घटनामा अन्य ३ जना घाइते भएका छन्।
शनिबार कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी १ लुसा भीरबाट कर्णाली नदीमा डोजर खसेको हो। मृत्यु हुनेमा सान्नीत्रिवेणी १ का १७ वर्षीय चरित्र विक र सोही ठाउँका १४ वर्षीय युवराज बुढा छन्।
कर्णाली नदीमा खसेको डोजरमा रहेका सान्नीत्रिवेणी १ का उमेश गिरी, सोही ठाउँका रक्तिम विक र अछाम घर भएका चालक कमल सोडारी बेपत्ता छन्।
दुर्घटनामा रास्कोट ७ का मिलन शाही,खाडाचक्र ११ बरातुका विवेक भारती र विकास भारती घाइते छन्। घाइतेको मान्मस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। आयोजनामा काम गर्ने क्रममा डोजर भीरबाट खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवराज बमले बताए।
बेपत्ताको खोजी भइरहेको पनि उनले बताए। उनले भने, 'अप्ठेरो ठाउँ भएकाले डोजर भीरबाट खसेको हो।' कालिकोटको फुकोटमा ४ सय मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सुरु खन्ने काम भइरहेको छ।
