काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा अध्यक्ष ओलीले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाइरहेको कुरा आइरहेको उल्लेख गर्दै त्यसको यथार्थबारे सदनलाई तत्काल जानकारी गराउन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । उनले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा भारतसँगको समस्याबारे खुलस्त छलफल गरी समस्या समाधान गर्नुपर्ने बताए ।
वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन हुने जिकिर गर्दै अध्यक्ष ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा पर्छ कि पर्दैन? भनेर सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।
‘सरकार परराष्ट्र सम्बन्ध सञ्चालनमा हतास देखिएको छ । छिमेकी मित्र राष्ट्रहरू र विदेशी समुदायलाई कुटनीतिक अपरिपक्वताको परिचय दिएको छ । यस सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ?’ उनले भने ‘यो सरकारलाई थाहा भएको पनि देखिँदैन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन । सम्माननीय प्रधानमन्त्रीज्यू केही दिनमा नै भारत भ्रमण जाँदै हुनुहुन्छ । मित्रसँग आफूलाई परेको मर्का, आफ्ना कुराहरू खुलस्त गर्न किन नसक्ने ? खुलस्त कुरा नगरि समस्याहरू कसरी समाधान हुन्छन् ? त्यस कारण खुलस्त कुरा गर्नुपर्यो । समस्या समाधान गर्नुपर्यो ।’
