काठमाडौं, १४ जेठ । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे गणतन्त्र दिवसका दिन भोलि चौधरीले माफी पाउने छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ ।
चौधरीले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजाय भोगिरहेका छन् ।
२०७२ साल भदौमा थरूहट थारूवानले कैलालीको टीकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।
सर्वोच्च अदालतले २ जेठ, २०८० मा मात्र रेशमलाई जन्मकैद सजाय गर्ने उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो ।
#रेशम चौधरी
