तुलसीपुर १९ जेठ/
महिलाहरुमा पाठेघर अथवा तल्लो पेट सम्बन्धि समस्यामा कमी आउँन सकेको छैन् । शान्तिनगरगाउँपालिका, महिला पुनस्र्थापना केन्द्र (ओरेक) र नेपाल परिवार नियोजक संघको संयुक्त आयोजनामा शान्तिनगर १ र ७ नं. मा सञ्चालन गरिएको महिला स्वास्थ्य शिविरमा महिलाहरुमा पाठेघरको समस्यामा कमी आउँन नसकेको पाईएको हो ।
शुक्रबार घोराहीमा सञ्चारकर्मीहरु प्रजनन स्वासथ्य सम्बन्धि छलपलmमा शिविरमा चेकजाँचका लागि गएका ३४० जना महिलाहरु मध्ये सबै भन्दा धेरै ५७ जना महिलामा पाठेघरको मुख सुन्निने समस्या भेटिएको जानकारी दिइएको थियो । त्यसैगरी २० जनामा ग्याष्ट्रिक, १६ जनामा पिसावको संक्रमण, ४९ जनामा पाठेघरको मुखमा घाउँ, २८ जनामा योनी चिलाउने समस्या, १६ जनामा महिनावारी गडवडी, दुखाई, ३ जनामा रगत बग्ने, ९ जनामा पाठेघरको पहिलो डिग्रीको समस्या देखिएको थियो । त्यसैगरी ६ जनामा पाठेघरको दोस्रो डिग्री, ७ जनामा पाठेघरको तेस्रो डिग्री, २ जनामा रत्तल अल्पता, १६ जनामा ढाड कम्मर दुख्ने, २१ जनामा तल्लो पेट दुख्ने, २१ जनामा जोर्नी दुख्ने, ३७ जनामा सेतो पानी बग्ने, १४ जनामा मानसिक स्वास्थ्य र १९ जना महिलामा अन्य समस्या देखिएको थियो ।
शिविरमा आउँने बिरामी मध्ये ११२ जना जनजाती, ७६ दलित, १५३ जना ब्रामण, क्षेत्री समुदायका महिलाहरुले सेवा लिएका थिए । सेवा लिने मध्ये ४२ जना निम्न परिवारका, २१४ जना कम मध्यम, र ८५ जना मध्यम परिवारका महिलाहरुले सेवा लिएको ओरेक दाङले जनाएको छ । सेवा लिएका मध्ये १६ जनालाई उपचारको लागि नेपाल परिवार नियोजन संघ र राप्ती प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो । अहिले पनि महिलाहरले घरपरिवार र समाजमा आफ्नो समस्या खुलेर भन्न नसकेका कारण समस्या बढ्दै गएको दिपा धितालले जानकारी दिइन् । शिविरमा २० वर्ष सम्म पनि पाठेघरको समस्या लुकाएर बसेको केशहरु पाईएको उनले बताईन् ।
उक्त अवसरमा बोल्दै पत्रकार शरद अधिकारीले महिलाहरुले आफ्नो समस्या खुलेर राख्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताए । साथै उनले के कारणले महिलाहरु आफ्नो समस्या खुलेर राख्न सक्दैनन् त्यसको जड पत्ता लगाउनु पर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्यले लगायतले स्थानीय स्तरमै महिलाहरुको नियमित रुपमा स्वास्थय जाँचको लागि व्यवस्था गर्नु पर्ने बताएका थिए । कार्यक्रमको उदेश्यको बारेर नेपाल परिवार नियोजन संघका शाखा प्रवन्धक बसन्त खनालले जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण ओरेकका बिन्दु शर्माले गरेकी थिइन् ।
