• ट्रेण्डिङ्ग :
एक गाग्री पानीको लागि घण्टौ हिड्नु पर्ने बाध्यता हट्दै

एक गाग्री पानीको लागि घण्टौ हिड्नु पर्ने बाध्यता हट्दै


  • 4.7K
    SHARES
    • जेठ २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 7.2K Views

    एक गाग्री पानीको लागि घण्टौ हिड्नु पर्ने बाध्यता हट्दै

    तुलबहादुर कँवर ,दाङ २८ जेठ/ 
    दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मुस्लिम टोलकी अमिना खातुन एक गाग्री पानी ल्याउन घण्टौ हिडेर जानू पर्ने बाध्यता छ ।

    images

    गर्मी याम शुरु भए सँगै घर नजिकमा रहेको पानीको मुहान सुके पछि उनी मात्रै हैन उनी जस्तै उक्त टोलका ४३ घरपरिवार वर्षैदेखि गर्मी महिनामा एक गाग्री पानी ल्याउन घण्टौ हिड्नु पर्ने वाध्यता छ । अहिले भने खातुन र उक्त टोलका नागरिकहरुको उक्त बाध्यताको अन्त हुने भएको छ ।

    राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८०को करिब पाँच लाख विनियोजित बजेट मार्फत खानेपानी आयोजनाको काम अघि बढे सँगै खाने पानीको समस्या समाधान हुने भएको हो ।

    अहिले करिब ८ सय ५० मिटर तल बेवरे खोलाबाट पानी तान्ने विद्युतीय मोटर मार्फत गाउँसम्म पानी ल्याउने तयारी छ भने श्रमदान मार्फत घरघरमा पानी पु¥याउन पाइप जोड्ने, खाडल खन्ने र पुर्ने काम सुरु भएको हो ।

    यसैबिच  पालिकाका अध्यक्ष प्रकाश विष्ट उक्त टोलमा पुगी श्रमदान गरेका छन् । उनी स्थानीय बासीहरु सँगै खाडल खन्ने, पाइप तान्ने, पुर्ने काम गरेका हुन् ।

    राज्यले प्रदान गर्ने बजेटले मात्रै विकास निर्माणका कामहरु सम्पन्न नहुने भन्दै अध्यक्ष विष्टले आफ्नो गाउँ घरमा हुने हरेक सार्वजनिक कामहरुमा श्रमदान गर्नु पर्छ भन्ने भावनाको विकास गराउने उदेश्यले आफू श्रमदान कार्यमा सहभागी भएको बताए ।

    348382438_655913743123902_8236594643575447647_n.jpg

    पछिल्लो समय गाउँ घरमा हुने स-साना कामहरुमा पनि राज्यकै मुख ताक्ने प्रचलन बढ्दै गएको छ, अध्यक्ष विष्टले भने–गाउँघरमा हुने हरेक विकास निर्माणका गतिविधिहरुमा नागरिक जनसहभागिता हुन जरुरी छ ।

    त्यस्तै वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले आयोजना सम्पन्न गर्न प्राप्त बजेट नभएकोले तत्कालका लागि दस हजार लिटर प्लास्टिकको ट्याङ्की मार्फत पानी वितरण गर्न लागिएको बताउदै आगामी दिनमा पक्की ट्याङ्की आवश्यकता रहेको बताए ।

    ‘स्थानीय गोपाल मियाँले खुसी हुदै भने वर्षैदेखि सुख्खा याम शुरु भए सँगै मानिसलाई मात्रै हैन पशु चौपायालाई समेत  पिउने पानीको समस्या थियो अब भने त्यो समस्या हटेर जाने भयो। पालिकाका अध्यक्ष सँगै श्रमदान गर्न पाउँदा स्थानीयहरु समेत खुसी भएका थिए ।

    श्रमदान कार्यक्रममा पालिकाका अध्यक्ष प्रकाश विष्ट सँगै वडा अध्यक्ष रिम बहादुर सुनारी मगर,सदस्य अलि मोहमद मियाँ ,युवा विद्यार्थी ठाकुर पन्थी ,रामकृष्ण डाँगी ,टोलका समाजसेवी बुद्धिजीवी लगायत स्थानीय बासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

     यसअघि पनि अध्यक्ष विष्टले पालिकाका विभिन्न वडाहरुमा हुने सार्वजनिक विकास निर्माणका कार्यहरुमा पटकपटक सहभागी हुँदै आइरहेका छन् ।


    तेस्रो आँखा