काठमाडौं, १ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए । उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्ने बताए । देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउन जरुरी रहेको बताए ।
उनले भने, “जनतामा सन्तुष्टि देखिएको छैन, अहिलेको हाम्रो मुख्य कार्यभार देशको विकास गर्नु हो । तर हामीले भनेजस्तो रूपमा कार्यभार निभाउन सकेका छैनौँ । त्यो कहाँ कमजोरी भएको छ, त्यसलाई गम्भीरताकासाथ लिएर हामी अघि बढ्नुपर्छ । त्यसैले सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउनु पर्छ । जनताले के भनेका छन् भने यो देश बदल्न सबैभन्दा पहिलो पार्टीहरु र नेताहरू बदलिनुपर्छ, त्यसपछि मात्रै देश बदलिन्छ ।”
उनले राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरू रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तीब्र पार्नु आवश्यक रहेको बताए ।
