• ट्रेण्डिङ्ग :
चारलाख लगाएर रानीतालमा २० धारा वितरण

चारलाख लगाएर रानीतालमा २० धारा वितरण


  • 10.8K
    SHARES
    • आषाढ १४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 16.6K Views

    चारलाख लगाएर रानीतालमा २० धारा वितरण

    गैंडाकोट, १४ असार । आँगनकै धारामा पानी आउने भएपछि गैंडाकोट – ४, रानीतालकी ७६ बर्षिया दिलकुमारी परियार औधी खुशी भएकी छिन । विगतका दिनहरू सम्झिदै दिलकुमारी भन्छिन – ‘घले पंधेरोमा विहानै ३ बजे पानी भर्न जाँदा पनि पानी पाईदैनथ्यो । घन्टौं लगाएर पानी भर्नु पर्दथ्यो । अहिले घरमै धारा आउँदा बेस्सरी खुसी लागेको छ ।’

    images

    गैंडाकोट नगरपालिका वडा नं ४ को पहलमा वडा नं. ४ को कार्यालय र स्थानिय जयश्री सामुदायिक वन उपभोक्ता समूहको संयुक्त प्रयासबाट रानीतालमा २० वटा धाराहरू ल्याइएको छ । घरको आगनमा रहेको धारामा पानी आउने भए पछि दिलकुमारी परियार जस्तै स्थानिय ४५ बर्षिया शुकमाया गुरुङ पनि हर्षित छन । विगतमा घले पँधेरोबाट एक गाग्री पानी ल्याउँदा गुरुङलाई २/३ घण्टा लाग्थ्यो रे । अहिले घरमै पानी आएपछि त्यो समय स्कूल जाने केटाकेटीलाई तयार गर्न र उनिहरुको खाजा बनाउनमा सदुपयोग हुने गुरुङ वताउँछिन ।

    15C1A507-4AB9-4842-A39F-6373938525B3-1024x579 (1).jpeg

    वडा नं ४ को कार्यालयको अगुवाईमा गरिवी तथा विपन्न परिवारका लागि ‘एक घर – एक धारा’ कार्यक्रम अन्तर्गत रानीतालमा २० वटा धाराहरूको वितरण गरिएको वडाध्यक्ष तेजप्रसाद घिमिरेले वताउनु भयो । वडाध्यक्ष घिमिरेका अनुसार आफूहरु जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आएपछि वडामा धेरै विकास निर्माणका कार्यहरू भएको र ‘एक घर – एक धारा’ कार्यक्रम पनि त्यसैको निरन्तरता भएको बताउनु भयो । ३७ घर रहेको रानीतालमा अहिले २० धारा जडान भए पनि चालु आर्थिक वर्षको अन्तसम्ममा सवै घरहरूमा धारा पुर्‍याउने लक्ष रहेको वडाध्यक्ष तेजप्रसाद घिमिरेको भनाई छ ।

    खयरटाडी रानीताल टोल विकास संस्थाका उपाध्यक्ष गणेश बहादुर परियाका अनुसार यो वर्ष धारा जडान हुन नसकेका घरहरुलाई छिमेकीको घरमा भएको धारा प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

    रानीतालमा वितरण गरिएका धाराहरूमा जलुके खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको पानी सप्लाई गरिएको छ । यो कार्यक्रमका लागि जलुके खानेपानीले पनि केही छुट दिएको वडाध्यक्ष घिमिरेले बताउनु भयो । वडाले यहाँ वितरण गरेको मिटर सहितको धाराहरू उपभोक्ताहरुलाई निःशुल्क उपलब्ध गराएको हो । वडा र जयश्री सामुदायिक वन उपभोक्ताको समेत लगानी भएको यो योजनामा करिब ४ लाख रुपैयाँ खर्च भएको वडाध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।


    तेस्रो आँखा