गैंडाकोट,१६ असार । गैंडाकोट नगरपालिका वडा नं . ४ को कार्यालयले वडा भित्र रहेका ७ वटा वाल क्लवहरुलाई खेलकुद सामाग्री वितरण गरेको छ । शनिवार स्थानिय जयश्री सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आयोजित एक कार्यक्रममा वडाका सातवटै टोल विकास संस्थाका सातवटै वाल क्लवहरूलाई मेयर मदनभक्त अधिकारी, वडाध्यक्ष तेजप्रसाद घिमिरे र जयश्री वन समुहका अध्यक्ष टोलनाथ घिमिरेले क्रिकेट खेलका सामाग्रीहरू, टेबुल टेनिस, स्कीपिड, लुडो, चेस, फुटवल, भलिवल र व्याडमिन्टन लगायतका खेलकुद सामाग्रीहरू वितरण गर्नुभएको हो । वितरण गरिएका उपरोक्त सामाग्रीहरू रू ७० हजार मुल्य बराबरको रहेको वडा न ४ का वडाध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
खेल सामाग्रीहरू वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले वितरण गरिएका खेल सामाग्रीहरुलाई वालबालिकाहरुले घरमै थन्काएर राख्न नहुने वताउनु भयो । खेलकुद सामाग्रीहरूको प्रयोग गर्न आग्रह गर्दै, बरु सिकाउन जान्ने मान्छे बोलाएर भए पनि वालवालिकाहरूले खेल्न आवश्यक भएको नगरप्रमुख अधिकारीले जिकिर गर्नुभयो । खेलकुदमा प्रगति गर्न सके वाल बालिकाहरुको भविष्य समेत राम्रो हुने बताउँदै खेल सामाग्रीहरू थन्काएर राखेमा नगरको उद्देश्य पूर्ति नहुने नगर प्रमुख अधिकारीको भनाइ थियो ।
कार्यक्रममा आफ्ना भनाईहरु राख्दै जयश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टोलनाथ घिमिरेले वडा कार्यालयले बालबालिकाको स्वस्थ्यको विकास होस र उनिहरुको शरिरको विकास होस भन्ने उद्देश्य लिएर खेलकुद सामाग्रीहरूको बितरण गरिएको बताउँदै बालवालिकाले पनि वडा कार्यालयको उद्देश्य अनुरूप गर्न सके सम्पूर्ण टोल र वडा हुँदै नगरकै स्वस्थ्य अवस्था राम्रो हुने प्रष्ट पार्नुभयो ।
आफ्ना भनाईहरू सहित कार्यक्रमको समापन गर्दै समारोहका अध्यक्ष एवं वडा नं ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेले मानविय विकास सवैभन्दा महत्वपूर्ण भएको वताउनु भयो । 'मानविय विकासमा पनि वालवालिकाको विकाश सवैभन्दा श्रेष्ठ हो, यसकारण वडाले कसरी उनिहरुको स्वास्थ्य, शरिर र चेतनाको विकास हुन्छ भन्ने कुरामा वडा कार्यालय सम्बेदनशिल बनेको छ' - वडाध्यक्ष घिमिरेले प्रष्ट पार्नुभयो, - 'वालवालिकालाई शैक्षिक क्षेत्रमा कसरी अगाडी बढाउने भनेर उनिहरूका अभिभावकहरु नै चिन्तित भए पनि शारिरिक विकास र स्वास्थ्यका लागि आवश्यक खेलकुद क्षेत्रमा भने त्यति चाँसो दिएको नदेखिएकोले केही हदसम्म त्यसको जिम्मेवारी वडा कार्यालयले लिन पहल गरेको छ ।'
कार्यपालिका सदस्य एवं वडा सदस्य शान्ता भुजेल घर्तीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा सदस्य हरि पौडेलले गर्नुभएको थियो ।
