• ट्रेण्डिङ्ग :
जम्बो तरुण दल
महिला ४ प्रतिशत, खस आर्यमात्रै ५८ प्रतिशत

महिला ४ प्रतिशत, खस आर्यमात्रै ५८ प्रतिशत


  • 2.8K
    SHARES
    • आषाढ १९, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    महिला ४ प्रतिशत, खस आर्यमात्रै ५८ प्रतिशत

    काठमाडौँ, १९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा भ्रातृ संस्था नेपाल तरुण दललाई पूर्णता दिएका छन् । दलको अध्यक्षमा विद्वान गुरूङलाई नियुक्त गरेको करिब डेढ वर्षपछि सभापति देउवाले पदाधिकारीरहित जम्बो केन्द्रीय समिति गठन गरिदिएका हुन् ।

    images

    महाधिवेशन छल्न बेमौसममा ल्याइएको गुरूङ नेतृत्वको तरुण दल केन्द्रीय समिति अब ४०१ सदस्यीय बनेको छ । आफूअनुकूल गुरूङलाई सभापति मनोनीत गरेका सभापति देउवाले डेढ वर्षपछि नेता शेखर कोइराला, उपसभापति पूणर्बहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित नेताहरूका रोजीका कार्यकर्ता समेटेर तरुण दल गठन गरेका हुन् । जबकि विधानबमोजिम न यो केन्द्रीय समिति वैधानिक हो, न त कार्यकारी नै ।

    तरुण दलले गएको १५ वर्षदेखि नियमित महाधिवेशन र नेतृत्व चयन गर्न सकेको छैन । तेस्रो महाधिवेशन भएको १० वर्षपछि ०७३ मा भएको चौथो महाधिवेशनमा पार्टीका नेताहरूको हस्तक्षेपले अधिवेशन रोकिएको थियो, त्यसबेला सर्वसम्मत ४ पदाधिकारी चयन भएपनि त्यो कार्यसमितिले पूरै कार्यकाल पूणर्ता पाउन सकेन, न त संगठन सुदृढीकरण र विस्तारमै सफल रह्यो । त्यसबेला पार्टीकै शीर्ष नेताहरूले भागबण्डा गरेर जीतजङ्ग बस्नेत अध्यक्ष, उत्तम चापागाई उपाध्यक्ष, भुपेन्द्रजंग शाही महासचिव र विद्वान गुरूङ कोषाध्यक्ष बनेका थिए ।

    बस्नेत नेतृत्वको तरुण दलले काम गर्न नसकेपछि सभापति देउवाले त्यसलाई खारेज गरेर ०७८ को चैतमा विद्वान गुरूङलाई अध्यक्ष मनोनीत गरेका थिए । सुरूवातमा एक वर्षपछि महाधिवेशन गर्ने कार्यभार दिइएपनि डेढ वर्षसम्म गुरूङ नेतृत्वको केन्द्रीय समितिले पूणर्ता नै पाएको थिएन ।

    डेढ वर्षपछि मनोनीत गरिएको ४०१ सदस्यीय केन्द्रीय समिति समेत चरम असमावेशी बनेको छ । पार्टीकै नेता, कार्यकर्ता र भ्रातृ संस्थाका प्रमुखहरूले मनोनीत गरेर ल्याइएका भ्रातृ संस्थाका समितिहरू समेत चरम असमावेशी रहेको भन्दै असन्तुष्टि पोखेका छन् । सभापति देउवाले तरुण दलमा ४०० जना नयाँ सदस्य मनोनीत गरेका छन् । अध्यक्ष गुरूङ सहित तरुण दल केन्द्रीय समिति ४०१ सदस्यीय बनेको छ । जसमध्ये ३८२ जना अर्थात् ९५ प्रतिशत पुरूष छन् । जाति र क्षेत्रगत हिसावले समेत समावेशी छैन । सभापति देउवाले नेताहरूको रोजाईलाई मात्रै ध्यानमा राख्दा संविधान र पार्टी विधानको समावेशी सिद्धान्तप्रतिकूल असमावेशी तरुण दल बनेको छ ।

    ४०१ सदस्यीय केन्द्रीय समितिमा सभापति देउवाले खसआर्य समुदायबाट मात्रै २३३ जनालाई मनोनीत गरेका छन् । केन्द्रीय समितिमा आदिवासी जनजाति ९४ जना अर्थात् २३ प्रतिशत, मधेशी ४४ जना अर्थात् ११ प्रतिशत र दलित १० जना अर्थात् २ प्रतिशतमात्रै समेटिएका छन् । कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘जनमानसबाट कांग्रेस समावेशी छैन भन्ने आरोप लागिरहेकै हो, अहिले त्यसैलाई पुष्टि गर्ने काम भयो । यही गतिमा अघि बढ्यो भने आगामी चुनावसम्म कांग्रेसले सीमान्त समुदायको मत पाउने आधार नै समाप्त हुन्छ ।’

    ती नेताका अनुसार नेपालमा दलितको जनसंख्या सबैभन्दा धेरै कर्णाली र मधेशमा छ । तर कर्णालीबाट एक जना जनामात्रै दलित युवा समेटिएका छन् भने मधेशी दलितको प्रतिनिधित्व नै भएको छैन । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सभापति ओमबहादुर मगरले तरुण दल गठन गर्दा पार्टीले समावेशी सिद्धान्तको मर्मलाई ध्यानमा नराखेको गुनासो गरे ।

    ‘संविधान र पार्टी विधानले सबै लिंग, क्षेत्र र जातजातिको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेका छन् । तर व्यवहारमा पार्टीले त्यसलाई एउटा भ्रातृ संस्थामा यति ठूलो केन्द्रीय समिति ल्याउँदा समेत ध्यानमा राखेको छैन,’ उनले भने, ‘यसले सीमान्त समुदायमा निराशा बढाउँछ ।’

    सभापति देउवाले नेताहरूबीचको भागबन्डामा मात्रै ध्यान केन्द्रित गर्दा तरुण दलमा पार्टीको जिम्मेवारीमा रहेका र ५० कटिसकेका नेताहरूसमेत परेका छन् । कांग्रेसमा नेतृत्वले भ्रातृ संस्थालाई समयमै महाधिवेशन गर्न र पार्टी संगठनमा लाग्न प्रेरित नगर्दा भ्रातृ संगठनहरू मृत्युशय्यामा पुगेको अवस्थामा छन् । पार्टीभित्रै चर्को दबाबपछि सभापति देउवाले तरुण दललाई पूणर्ता दिएका हुन् भने यसअघि महिला संघले पनि पूणर्ता पाएको छ ।

    कांग्रेसका १३ वटा भ्रातृ तथा १८ वटा शुभेच्छुक संस्थाहरू छन् । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले विंस. २०१० सालमा स्थापना गरेको नेपाल तरुण दल कुनै बेला पार्टी संगठनको खम्बा मानिन्थ्यो । तरूण दलको संस्थापक अध्यक्ष सिंहध्वज खड्का थिए । दलमाथिको प्रतिबन्धका बेला विघटन भएको तरुण दललाई ०५४ सालपछि ब्युँताइएको थियो । त्यसबेला तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले नेता बालकृष्ण खाँणलाई तरुण दलको अध्यक्ष बनाएर तरुण दल ब्युँताएका थिए ।

    नेविसंघको अध्यक्ष हुँदै तरुण दल अध्यक्षको जिम्मेवारी पाएका खाँणले नै त्यसयता तरुण दलको नेतृत्वमा पकड राख्दै आएका थिए । यसपटक खाँण भुटानी शरणार्थी प्रकरणमा मुछिएर हिरासत पर्दासमेत तरुण दलका नेताहरूले नै पार्टीभित्र खाँणको बचाउमा सक्रिय अभियान चलाए ।

    खाँणले तरुण दलमा काम गरेका नेताहरूलाई समेटेर गुटनै खडा गरेका थिए । खाँणपछि तरूण दलमा महादेव गुरूङ, विनोद कायस्थ, महेन्द्र यादव र उदय शमशेर राणाले नेतृत्व सम्हालेका थिए ।


    तेस्रो आँखा