काठमाडौँ, २३ असार । समाजवादी मोर्चाको आज बसेको पहिलो बैठकमा मोर्चाको आगामी बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने बताइएको छ।
मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । २७ गते कार्यक्रमको मिति घोषणा हुने पाण्डेले बताए ।
यसैगरी मोर्चाले ४ सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का प्रमेश हमाल‚ नेकपा (माओवादी केन्द्र)का देव गुरुङ‚ जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठ र विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन्।
कार्यदललाई मोर्चाको आचारसंहिता र भावी नीति तथा कार्यक्रम बनाउने जिम्मा दिइएको छ। बैठकले मोर्चाका समझदारीबारे आगामी बैठकले टुंगो लगाउने निर्णय गरेको छ। ६/६ महिनामा फरक फरक दलले आलोपालो मोर्चाको अध्यक्षता गर्ने सहमति भएको छ।
‘सामान्यतया यो मोर्चाको ६/६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल) ले ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ । यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ, लगभग समझदारी त्यही छ । समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ’ बैठकपछि पत्रकारहरुसँग पाण्डेले भने ।
दीर्घकालमा पार्टी एकताकै लक्ष्यका साथ हाललाई मोर्चाबन्दी गरिएको नेताहरूको भनाइ छ। चार दलले ४ असारमा समाजवादी मोर्चा गठन गरेका थिए । समाजवादी मोर्चामा आवद्ध दलका प्रतिनिधिसभामा ५४ सांसद छन् ।
