पाल्पा २६ असार /
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा राखेको पत्रकार भेटमा उनले ललिता निवास प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘सरकारी जग्गा हिनामिना प्रकरणमा जो सुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ । कारबाहीको भागिदार हुनुपर्छ ।’ उनले आफ्नो नाम पनि यस प्रकरणमा जोडिएको स्विकार्दै निर्णय गर्नेको नाम आउनु स्वाभाविक भएको बताए । नाम आउनेबित्तिकै आफूले बदमासी गरेको छैन भने आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताए ।
उनले ‘सिस्टम’ मा कुनै त्रुटि छ भने सच्याउनुपर्ने बताए । २०६६/६७ मा पेस भएको फाइल प्रधानमन्त्री निवासलाई विस्तार गर्दै अगाडि बढाउने योजना राम्रो लागेकाले काम अघि बढाउन निर्णय भएको उनले प्रस्ट पारे । उनले यससँग जोडिएका, गिरोहका रुपमा रहेकालाई छाड्नुपर्ने अवस्था नरहेको बताए । यो वा त्यो प्रकरण नभई देशव्यापी सरकारी जग्गामा भएको हिनामिनाको छानबिन गर्नसमेत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले आग्रह गरिसकेको बताए ।
ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी जग्गा हडप्न विभिन्न व्यक्तिको मिलेमतो रहेको अनुसन्धानबाट खुलिसकेको छ । ललिता निवास प्रकरणमात्र होइन, सबै क्षेत्रमा भएका बदमासीको छानबिनमा खुट्टा कमाउन नहुने सुझाव दिए । फरक प्रसंगमा उनले वर्तमान सरकार आवश्यकताका आधारमा बनेको बताए ।
