काठमाडौं, २७ असार । काठमाडौं महानगरका सडक पेटीमा पहिले व्यापार हुन्थ्यो अहिले ती क्षेत्र खुला छन् । पैदल यात्रुकालागि हिँडडुल गर्न सहज छ । तर यसको बदलामा जो कोही गरिखानेमाथि महानगरका प्रहरीले ज्यादती गर्न मिल्छ ? के काठमाडौं सहर धनीहरुको मात्रै हो ? यी र यस्तै खाले कैयन प्रश्न उब्जेका छन् ।
साइकलमा फलफूल बोकेर बेच्दै हिँड्ने एक व्यक्तिलाई रुवाउँदै उनको मालवस्तु खोस्ने नगर प्रहरीहरु विवादमा मुछिएका छन् । महानगरका प्रहरीमा मानवता हराउँदै गएको भनेर पनि चर्चा भइरहेको छ ।
केपी ओली प्रधानमन्त्री हुँदा ‘इनफ इज इनफ’ भन्दै सक्रिय भएको एक समूहले भोलि मंगलबार साढे नौ बजेदेखि साढे दशबजेसम्म काठमाडौं महानगरको कार्यालय अगाडि ‘गरिबको चमेली बोल्दिने कोइ छैन’ भन्दै प्रदर्शन पनि गर्ने भएको छ ।
यता, महानगरले अभद्र व्यवहार गर्ने, आर्थिक लेनदेनमा संलग्न हुने १२ जनामाथि कारबाही गरेको बताएकोछ । १२ मध्ये ७ जनालाई त बर्खास्त नै गरिएको छ । ठेला तथा साइकलमा व्यापार गर्नेहरुमाथि काठमाडौं महानगरका नगर प्रहरीहरुले गर्ने ज्यादतिविरुद्ध फेरि एक पटक समाज तरंगीत भएको छ ।
साइकलमा फलफूल बेच्न हिँडेका एक व्यापारीमाथि महानगर प्रहरीले गरेको ज्यादतिको एक कारुणिक दृश्यमाथि धेरैले महानगरको शैलीविरुद्ध आक्रोश पोखेका छन् । विशेषगरी सामान्य व्यापारीमाथि महानगरका नगर प्रहरीले गरेको छिनाझम्टी र व्यापारीको रोदनले धेरैलाई भावुक बनाएको छ ।
साइकलमा रहेको फलफूल सडकमा छरपस्ट पार्नेदेखि एक मामुली व्यापारी रुवाउनेसम्मको हर्कत काठमाडौं महानगरका नगर प्रहरीले गरेका छन् ।
काठमाडौं महानगरले सडक पेटीमा हुने गरेको व्यापार हटाउन कडा नीति लिएको छ । ठेलामा गरिने व्यापारले पनि सडक साँघुरो बनाएको भनेर त्यसविरुद्ध पनि छिनाझम्टी हुने गरेको छ । यो दृश्य चाहिँ पेटीको व्यापार वा ठेलाको व्यापार पनि होइन । साइकलमा फलफूल राखेर घर घर बेच्दै हिँड्नेमाथि महानगरका नगर प्रहरीहरु खनिएका छन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहले चुनाव अघिका आफ्ना अन्तवार्ताहरुमा सडक पेटी वा ठेलामा व्यापार गर्नेहरुलाई जबर्जस्ती हटाउने भन्दा पनि उनीहरुका लागि विकल्प दिनु पर्ने विचार राख्ने गरेका थिए । तर अहिले काठमाडौं महानगरले सडकमा व्यापार गरेर जीवीको गर्नेहरुका लागि हालसम्म कुनै विकल्प दिएको छैन ।
बढी चर्चा र चासोमा परेको यो भिडियो शेयर गर्दैै पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईदेखि सचेत हरकोही नागरिकले काठमाडौं महानगरलाई सम्भाउँदै भनेका छन् – के यो सहर धनीहरुकालागि मात्रै हो ?
डाक्टर भट्टराईले ट्वीटमार्फत आपत्ति जनाएका छन् । उनले निश्चित ठाउँ र समय तोकेर अनौपचारिक व्यवसाय गर्न दिइनु पर्ने उल्लेख गरेका छन् ।
महानगरका नगर प्रहरीहरुको दुस्साहस बढ्दै, सात जना बर्खास्त, पाँच निलम्वनमा
नगर प्रहरीको शैलीमाथि आक्रोश र अनगिन्ति प्रश्नहरु उब्जिएपछि काठमाडौं महानगरले केही नगर प्रहरीलाई बर्खास्त तथा केहीलाई निलम्वन गरेको छ ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार अभद्र व्यवहार, अमानवीय व्उवहार गर्ने र ड्युटीको समयमा आचरण विपरीत लेनदेनमा संलग्न भएका १२ नगर प्रहरी कारबाहीमा परेका छन् ।
जसमध्ये सात जनालाई बर्खास्त नै गरिएको छ । पाँच जनालाई अनुसन्धानका लागि निलम्वन गरिएको छ । कारबाहीमा पर्नेहरुको संख्था थपिन सक्ने नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।
अहिले कारबाहीमा परेका मध्ये धेरै जसो महानगरले युनिक सेक्युरिटिज मार्फत लिएका नगर प्रहरीहरु छन् । युनिकबाट महानगरले ८१ व्यक्तिलाई नगर प्रहरीमा राखेको छ ।
साढे तीन सय नगर प्रहरी मध्ये धेरै जसो करारमा छन् भने केही प्रहरी स्थायी पनि छन् । निलम्वनमा परेका ती पाँच जना महानगरका पुराना तथा स्थायी नगर प्रहरी हुन् ।
केही नगर प्रहरीहरु आर्थिक लेनदेनमा मुछिएको, केहीले अमानवीय व्यवहार गरेको पाइएपछि उनीहरुमाथि तत्कालै कारबाही गरिएको नगर प्रहरी प्रमुख पाण्डले जानकारी दिए ।
अन्य केहीलार्ई स्पस्टीकरण सोध्ने, सचेत गराउने र यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको छ ।
बालेनविरुद्ध ‘इनफ इज इनफ’ अभियान
काठमाडौं महानगरका प्रहरीले सडकमा ब्यापार गर्ने श्रमिकलाई अमानवीय व्यवहार गरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले विरोधमा ह्यासट्याग अभियान चलाएको छ ।
‘इनफ इज इनफ’ अभियाले ह्यासट्याग अभियानमार्फत बुधबार दिउसो महानगरको गेटमा प्रर्दशन गर्ने तयारी गरेको छ । बालेनको ¥याप गीतमा प्रयोग भएको ‘गरीबको चमेली बोल्दिने कोही छैन’ भन्ने वाक्यलाई नै ह्यासट्याग बनाएर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ ।
इनफ इज इनफ अभियान तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधका क्रममा चर्चामा आएको थियो । बालेनका दुःखका दिन सुरु, वारेससमेत राख्न पाएनन्, अदालतका कारण हैरानी थपियो । मेयर साहलाई अदालतले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ । अदालतको अवहेलना मुद्दामा वारेस राख्ने अनुमति उनले मागेका थिए । तर सर्वोच्चले उनको माग अस्वीकार गरिदियो ।
आइतबार शाहले दिएको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले वारेस राख्ने उनको मा ग अस्वीकार गरेको हो । अदालतले वारेस राख्ने अनुमति नदिएपछि अब शाह आफैँ सुनुवाइमा अदालतमा उपस्थित हुनुपर्ने छ भने तारेख समेत उनले नै बुझ्नुपर्ने छ ।
भारतीय सिनेमा आदि पुरुषसम्बन्धी विवादमा वालेनले सरकार र अदालत भारतको गुलाम भएको प्रतिक्रिया दिएका थिए । उनले अदालतको आदेश नमान्ने टिप्पणी गरेका थिए । बालेनलाई अदालतसम्म तान्ने अधिवक्ता चाहिँ वर्षाकुमारी झा हुन् ।
