• ट्रेण्डिङ्ग :
समिट हस्पीटलविरुद्ध उजुरीपछि छानविन समिति गठन

समिट हस्पीटलविरुद्ध उजुरीपछि छानविन समिति गठन


  • 6.6K
    SHARES
    • आषाढ २७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 10.1K Views

    समिट हस्पीटलविरुद्ध उजुरीपछि छानविन समिति गठन

    काठमाडौं, २७ आषाढ  । भक्तपुरको लोकन्थलीमा सञ्चालित समिट हस्पीटल मापदण्ड विपरित सञ्चालन भएको खुलासा भएपछि बागमती प्रदेश सरकारले छानविन अघि बढाएको छ । समिट हस्पीटलविरुद्धको उजुरीपछि बागमती प्रदेश सरकारले स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । उक्त समितिलाई १० दिन भित्र प्रतिबेदन बुझाउन निर्देशन दिइएको छ । ५० शैयाको अस्पतालले प्रदेश सरकारअन्र्तगत स्वास्थ्य निर्देशनालयले तोकेको मापदण्ड पूरा गरी स्वास्थ्य संस्था सञ्चालन गर्नु पर्छ । तर, यो अस्पताल न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालन भइरहेको विषयमा न्यूज २४ ले रिर्पोटिङ गरेकाे थियाे ।

    images

    सेवाग्राहीको गुनासोपछि मध्यपुर नगरपालिकाले गरेको अनुगमनका क्रममा अस्पताल मापदण्ड विपरित सञ्चालन भएको पाइएको थियो । मध्यपुरले बागमती प्रदेशलाई कारबाही सिफारिस गरेपछि प्रदेश सरकारले छानविन गर्न समिति गठन गरेको हो । समितिका संयोजक मिजारले अस्पताल कैफियतग्रस्त रहेको जवाफ दिएका छन् ।

    झुठ बोलेका थिए सञ्चालक थापाले, अल्पकालीन आदेशको हवला दिए, तर मुद्दा फैसला भइसकेको थियो

    कार्यक्रम सिधा कुरा जनतासँगको एक हजार २५ औं शृङखलामा समित हस्पिटलबारे उत्पन्न प्रश्नहरुको जवाफ दिने क्रममा सञ्चालक तेजविक्रम थापाले उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको र सोही आदेशको भरमा मुद्दा विचाराधीन रहेको दावी गरेका थिए । घरधनीले घर खाली गराउने प्रक्रिया थालेपछि त्यसविरुद्ध थापा अदालत गएका थिए । उच्च अदालतले जेठ २६ गते अल्पकालिन अन्तरिम आदेश जारी गर्याे, तर मुद्दाको फैसला असार ६ मै भइसकेको थियो । तर असार २१ गतेको सिधाकुरामा सञ्चालक थापाले अन्तरिम आदेशकै कुरा गरेर झुठ बोल्ने तथा अल्मल्याउने प्रयास गरेका थिए ।

    अस्पताल सञ्चालक थापाले घर खाली गराउने घरबेटीविरुद्ध निषेधआज्ञा पाउँ भन्दै उच्चमा मुद्दा दर्ता गरे । तर त्यो मुद्दाको फैसला असार छ गते हुँदा थापाको विपक्षमा फैसला भयो ।

    उच्चले घरधनीका पक्षमा गरेको फैसलाको पूर्ण पाठ आउँन भने बाँकी छ । हामीले मुद्दा फैसला भइसकेको अवस्थामा निष्क्रिय रहेको अल्पकालिन अन्तरिम आदेशको कुरा तपाईले अघिल्लो कार्यक्रममा निकालेर किन भ्रम छर्न खोज्नु भयो ? भन्ने प्रश्न तेजविक्रम थापालाई गरेका थियाैँ(भिडियोमा)।

    अर्काको घरमा थापाको अनौपचारिक कब्जा, भाडामा लिने र दिनबीच सम्झैता नै छैन, १० वर्षदेखिको घरबहाल कर खै ?

    ६५ साल फागुन ३१ तत्कालिन मितेरी हस्पिटल र गोमा शिवाकोटीका पति रामकृष्ण पन्तबीच घर भाडामा दिने सम्बन्धमा करारनामा भएकाे थियाे । पाँच वर्षका लागि गरिएको करारनामा १० वर्षअघि नै सक्किसकेको छ । मितेरी हस्पिटलको नाम बदलिएर अहिले समिट हस्पिटल भएको छ ।

    अस्पताल गोमा शिवाकोटीकै घरमा चलिरहेको छ । तर १० वर्षयता घर भाडामा लिने र दिनेबीच कानुनी सम्झौता भएको छैन । सम्झौता भएपछि सरकारलाई घरबहाल कर बुझाउनु पर्छ । स्थानीय सरकारले अस्पताल वा घरधनीबाट पाउनु पर्ने १० वर्षदेखिको कर गुमाइ रहेको छ । घरधनी गोमा शिवाकोटीको दावीअनुसार तेजबिक्रम थापाले नमानेका कारण अहिलेसम्म घर भाडामा लिने दिनेबीच सम्झौता हुन नसकेको हो ।

    १५ वर्षअघि मासिक ७० हजार भाडा कायम गरिएको थियो । त्यसमा प्रत्येक वर्ष १० प्रतिशतले भाडा रकम वृद्धि हुने भनिएको थियो । यो हिसाबले हालको घर भाडा मासिक सरदर १ लाख ७० हजार हजार हुने देखिन्छ । सो रकममा लाग्ने घर बहालकर समेत गोलमाल पारिएको देखिन्छ ।

    मध्यपुर थिमिका राजश्व शाखाले दिएको जानकारीअनुसार समिट अस्पताल नगरपालिकाको १ नम्बर वडामा पनि दर्ता छैन । पटक पटक ताकेता गर्दा पनि अस्पताल दर्ता हुन गएको थिएन । त्यसयताको कर पनि अस्पतालले बुझाएको छैन । थापाले घरधनीलाई गत चैतसम्मको १ करोड ६१ बुझाउन बाँकी छ ।

    शिवाकोटीको घरमा अस्पताल सञ्चालक थापाले बिना अनुमति एक तल्ला थपे । तर पनि त्यो एक तल्ला थपेको खर्च भनेर शिवाकोटीले ८१ लाख रुपैयाँ व्यहोर्न तयार भइन् । तर बाँकी ८० लाख पनि थापाले दिएका छैनन् ।

    थापाले तीन वटा चेक दिए पनि ती चेक साटिएका छैनन् । घर बहालको बक्यौता तिरेर जेठ २५ सम्ममा घर खाली गर्छु भन्ने सहमति गरेका थापाले न अहिलेसम्म कर बुझाएका छन् न घर खाली गरेका छन् । तर अहिले थापा चाहिँ आफूलाई करकापमा पारेर सहमति गर्न बाध्य पारिएको कुतर्क गर्दै आएका छन् ।

    स्वभाविक रुपमा बुझाउनु पर्ने घर भाडा बुझाउन छाडेर अस्प्ताल सञ्चालक कचिंगल गरिरहेका छन् । अर्कोतिर मध्यपुर थिमिले चाहिँ वडा नम्बर एकलाई पत्र लेखेर कर चुक्ताका लागि प्रक्रिया अघि बढाउन भनेको छ ।

    थापाबाट श्रम शोषणमा परेको भन्दै थप कर्मचारी न्यूज २४ मा

    यसअघि प्रशारण भएको रिपोर्टमा हामीले थापाको अस्पतालले डाक्टरहरुको पारिश्रमिक समेत नदिएको देखाएका थियौँ । पारिश्रमिक किन नदिएको भन्ने हाम्रो प्रश्नमा उनले नियोजित मान्छेको पक्षमा नबोल्न भन्दै आफ्नो बचाउँ गरेका थिए । तर थापाको यही जवाफ सुनेर चित्त नबुझेपछि उनीबाट श्रमशोषणमा परेका भन्दै थप पीडितहरु हाम्रो सम्पर्कमा आएका छन् ।अस्पतालको विभिन्न विभागमा कार्यरत झण्डै २५ जना भन्दा बढी कर्मचारीहरुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।त्यसमध्येका अधिकांश कर्मचारीहरुको हातमा थापाले खातामा पैशा नभएको चेक थमाएका छन् । केही कर्मचारीहरुले चेक बाउन्स नै गरेका छन् ।


    तेस्रो आँखा