जनकपुर ३१ असार / भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवालाई हरियो झण्डा देखाएर उद्घाटन गरेका छन् ।
आइतबारदेखि जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा नियमित सञ्चालन हुने भएको हो। मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि भंगहा स्टेशनबाट जयनगरका लागि रेल गुडेको छ । यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको थियो ।
आजदेखि थप १७ किलोमिटरमा रेल सेवा सञ्चालन भएको मन्त्री ज्वालाले बताए । अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्मको ५२ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ । छिमेकी मुलुक भारत सरकारको आर्थिक सहयोगमा भारतीय कम्पनी इरकनले १७ किलोमिटर रेल्वे विस्तार गरेको हो । गत जेठ १८ गते उक्त भारतीय कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।
