• ट्रेण्डिङ्ग :
समय अगवै बन्यौ कक्रहवा पुल, स्थानीय हर्षित

समय अगवै बन्यौ कक्रहवा पुल, स्थानीय हर्षित


  • 4.0K
    SHARES
    • आषाढ ३१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.2K Views

    समय अगवै बन्यौ कक्रहवा पुल, स्थानीय हर्षित

    अञ्जना चौधरी, तुलसीपुर ३१ असार/ राजपुर गाउँपालिका वडा नं. १ बेलाका समिर चौधरी पेसाले गाडी चालक हुन् । पछिल्लो डेढ वर्षदेखि उनी बेला–मानपुर हुँदै लमही रुटमा गाडी चलाउँदै आएका छन् । यो डेढ वर्षको बीचमा बेलाबाट लमही र लमहीबाट बेला आउँजाउँ गर्न चौधरीले धेरै सास्ती भोगे । गत वर्ष साउन महिनाको कुरा हो देशभरी वर्षा भइरहेको थियो । उनी बिहान साढे ८ बजे बेलाबाट यात्रु लिएर लमहीतर्फ हिडे तर गढवाको मानपुर र शान्तिपुरको बीचमा पर्ने कक्रहवा खोलामा ठुलो बाढी आएको थियो ।

    images

    बस खोला पारी जान सक्ने अवस्था थिएन । त्यसपछि समिर आफैले बसबाट ओर्लेर सबै यात्रुहरुलाई पालै पालो खोला तराएर लमही पठाए आफु भने दिनभरी खोला वारी बसेर यात्रु कुरे । बेलुका लमहीबाट सबै यात्रु आएपछि फेरी सबैलाई पालैपालो खोला तारेर वारी ल्याएर र घर फर्किए । यो उदाहरण समिरको जीवनको एउटा घटना मात्रै हो । कक्रहवा खोलामा पुल नबन्दा दैनिक जसो केही न केही समस्या भोग्दै आएको गाडी चालक चौधरीले बताए । ‘बर्खामा गाडी भासिन्थ्यो, हिउँदमा कच्ची बाटो धुलोले सताउथ्यो, खोलामा पुल बनेको थिएन बाटो पनि कच्ची हुँदा अझ धेरै समस्या हुन्थ्यो चौधरी भन्छन् । यही सास्तीले गर्दा कहिलेकाँही त उनी गाडी चलाउन छोडेर बिदेश जाउँ की भन्ने सोच पनि बनाए । तर विभिन्न कारणले गर्दा उनी विदेश जान सकेनन् र गाडी चलाएरै जीविकोपार्जन गर्दै आएका छन् ।

    तर यो वर्षको वर्षायाममा समिरलगायत उक्त रुटमा चल्ने सवारी साधन निर्धक्क भएर यात्रा गरे । बाटो पीच हुनुका साथै कक्रहवा खोलामा पुल बनेपछि यात्रु तथा गाडी चालक सबैले सहज रुपमा यात्रा गरे ।

    ‘मानपुर निवासी नारायणी पौडेलले पनि कक्रहवा खोलामा पुल बनेपछि दैनिक कार्यमा सहजता आएको बताइन् । पहिले त पुल पनि थिएन बर्खामा त खोला तरेर अर्को गाउँ जान समेत समस्या हुन्थ्यो अहिले पुल बनेपछि जुनै बेला पनि हामी एक गाउँबाट अर्को गाउँमा सहजै जान सक्छौ’ उनले भनिन् । खोलामा पुल नभएकै कारण धेरैले उक्त खोला तर्ने क्रममा ज्यान गुमाएको पौडेलले जानकारी दिइन् । खोलामा पुल नहुँदा बर्खाको समयमा काम परे पनि खोला वारपार गरेर जान सक्दैनथ्यौं, नजिकैका छिमेकी पनि टाढाको जस्तो लाग्थ्यो अहिले पुल बनेपछि धेरै सहज भयो पौडेलले भनिन् । समय अगावै पुल बनेको भन्दै उनले खुशी व्यक्त गरिन् ।

    समयसीमा अगाडी नै बन्यौ पुल 
    गढवा गाउँपालिकाको मानपुर र शान्तिपुरको बीचमा रहेको कक्रहवा खोलामा समयसीमा अगावै पुल निर्माणको कार्य सम्पन्न भएको छ । जिल्लाका कतिपय पुलहरु पटक–पटक म्याद थप हुँदा समेत बन्न नसकेको बेला उक्त पुल ८ महिना अगाडी नै सम्पन्न भएको हो । २०७७ असोजमा नेपाल सरकारको सडक विभागको पुल महाशाखा र अनक कन्ट्रक्शन प्रालिबीच २०८० साल माघ १० गते भित्र पुल निर्माणको काम सक्ने गरी भ्याटसहित ३० करोडमा सम्झौता भएको थियो ।

    पुलको डिजाइन मात्रै बनाएर पास हुन करिब सात महिना लागेको थियो । सम्झौता भएको करिब सात महिनापछि मात्रै अनक कन्ट्रक्शन प्रालि क्षेत्र नं. ४ पाल्पाले २०७८ देखि पुल निर्माणको काम सुरु गरेको प्रालिका इन्चार्ज लक्ष्मण ढकालले जानकारी दिए । २६० मिटर लम्बाई र फुटपाथसहित ११ मिटर चौडाई रहेको उक्त पुल सात महिना पहिले नै सम्पन्न भएको हो । समय अगावै पुल बनेपछि स्थानीयहरु हर्षित भएका छन् । अहिले थोरै ग्राभेलको काम मात्रै बाँकी रहेको इन्चार्ज ढकालले बताए । ‘पहिले ग्राभेल नगर्ने कुरा थियो पछि फेरी गर्नुपर्छ भन्ने भयो अहिले थोरै त्यहीँ काम बाँकी छ, हामीले सरकारलाई पुल निर्माणको काम सकिएको जानकारी पनि दिएका छौ’ ढकालले भने ‘गाडीहरु पुलबाट चलिरहेका छन’ ।

    पुल निर्माणको काम थालेसँगै स्थानीयहरुको पनि राम्रो साथ सहयोग पाएकाले पनि समय अगावै पुल निर्माण गर्न सकिएको उनले बताए । ‘काम गर्ने वातावरण राम्रो बन्यो, कसैको रोकावट भएन, कम्पनीले पनि जिम्मा लिइसकेपछि सरकारको मात्रै मुख ताकेन आफुले जिम्मा लिएको काम छिटो सकेर स्थानीयहरुलाई सहजता दिनुपर्छ भन्ने हिसावले कम्पनीले काम गरेको हो’ उनले भने ।

    360518875_665788491638824_5373814340859656308_n.jpg


    तेस्रो आँखा