काठमाडौं, ०१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने तयारी सुरु गरेको छ । रास्वपाले आगामी मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुनमा पहिलो महाधिवेशन सम्पन्न गर्ने भएको हो । रास्वापाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘मंसिरबाट महाधिवेशनको चरणमा प्रवेश गर्छौँ । सुरुमा हाम्रो वडा अधिवेशन हुन्छ । त्यसपछि पालिका अधिवेशन हुन्छ ।’
पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका बुर्लाकोटीका अनुसार पालिका अधिवेशनले प्रदेश र केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छान्ने छ । पालिकाभित्रका साधारण सदस्यले महाधिवेशन प्रतिनिधि छनोट गर्ने उनको भनाइ छ । बुर्लाकोटीका अनुसार गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार जनाका दरले महाधिवेशन प्रतिनिधि छनोट हुनेछ । यसरी ७५३ पालिकाबाट १ हजार ६९ जना महाधिवेशन प्रतिनिधि छानिने छन् ।
जस अनुसार ६ वटा महानगरपालिकाबाट २४ जना, ११ वटा उपमहानगरपालिकाबाट ३३ जना, २७६ वटा नगरपालिकाबाट ५५२ जना र ४६० गाउँपालिकाबाट ४६० जना प्रतिनिधि छानिने छन् ।
‘अहिलेसम्म प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि छुट्याइएको छैन । महाधिवेशन प्रतिनिधिले नै सम्बन्धित प्रदेशको नेतृत्व चयन गर्नुहुन्छ,’ बुर्लाकोटीले भने । रास्वपाले केन्द्रीय सभापतिको चयन पार्टी सदस्यबाट गर्ने बताउने गरेको छ । तर पहिलो महाधिवेशनमा प्रतिनिधिबाट चयन गर्ने सम्भावना रहेको उनी बताउँछन् ।
‘हाम्रो स्प्रिटचाहिँ साधारण सदस्यको मतदानबाट सभापति चयन गर्ने भन्ने हो । तर डकुमेन्टमा महाधिवेशन प्रतिनिधिले चयन गर्ने भन्ने छ,’ बुर्लाकोटी भन्छन्, ‘सोही अनुसार नै नेतृत्व चयन गर्ने गरी अगाडि बढेका छौँ ।’
उनका अनुसार साधारण सदस्यले पनि भोट हाल्ने व्यवस्थाका लागि डिजिटल सिस्टम त्यति राम्रो बनिसकेको छैन । पहिलो महाधिवेशन भएकाले रास्वपाले सर्वसम्मत नेतृत्व चयनका लागि जोड गर्ने छ ।
‘अधिकांश ठाउँमा सहमतिको खोजी हुन्छ । तर, केन्द्रीय वा प्रदेश नेतृत्वबाट टीका लगाउने अभ्यास हुँदैन,’ बुर्लाकोटीले भने, ‘पालिका र वडा तहमै रहेका साथीहरुबीच सहमतिको प्रयास हुन्छ ।’ अहिले पनि सोही अनुसार वडा र पालिका कमिटी निर्माण भइरहेको उनको भनाइ छ ।
भदौमा बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशनको तालिका र मोडालिटीबारे प्रस्ताव लैजाने रास्वपाको तयारी छ । ‘कार्यतालिका र मोडालिटी केन्द्रीय समितिले टुङ्ग्याउने कुरा रह्यो । वडा अधिवेशन प्रदेशगत सुरु गर्ने कि भन्ने छ,’ उनी भन्छन्, ‘हामी नयाँ पार्टी भएकाले एकै पटक वडा अधिवेशन गर्दाको जोखिम विश्लेषण गर्नुपर्ने हुन्छ । प्रदेशगत रुपमा सुरु गरेर जाने कि भन्ने पनि छ । वडाको पनि कसरी गर्ने ? हाम्रो पहल कति लाग्छ ? एउटा विधि अपनाउनुपर्छ होला ।’
बुर्लाकोटीका अनुसार पहिला सबै पालिकाको एक नम्बर वडाको अधिवेशन गर्न सामान्य खाका बनेको छ । त्यसैगरी अरु वडाको पनि अधिवेशन हुने उनले बताए । ‘यसरी अधिवेशन गर्दा हामीलाई केही समय लाग्छ । वडा अधिवेशनका लागि एक महिना राखेर पालिका अधिवेशन प्रारम्भ गर्ने तयारी छ । त्यसपछि प्रदेश अधिवेशनमा जान्छौँ होला,’ बुर्लाकोटीले भने ।
उनका अनुसार साउनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने छ । कार्यसम्पादन समितिले पास गरेको एजेण्डामाथि छलफल गर्न भदौमा रास्वपाको केन्द्रीय कार्यसमिति बैठक बस्ने छ ।
