कराँची, १ साउन । पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ । मन्दिर भत्किएपछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दु समुदायका मानिसहरु समस्यामा परेका छन् । कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दिरलाई शुक्रबार राति प्रहरीको ठूलो संख्याको उपस्थितिमा बुलडोजरको सहायताले भत्काइएको थियो । यस क्षेत्रका हिन्दू मन्दिरहरूको हेरचाह गर्ने रामनाथ मिश्र महाराजले भने, ‘उनीहरू राति अबेरसम्म मन्दिर भत्काए र हामीलाई थाहा थिएन कि यो भइरहेको छ।’
अर्कोतर्फ हिन्दू समुदायका स्थानीय नेता रमेशले मन्दिरको जग्गा किर्ते कागजपत्रका आधारमा ‘डेभलपर’लाई बिक्री गरेको भन्दै केही समयदेखि मन्दिर व्यवस्थापनलाई परिसर खाली गर्न दबाब परेको बताए । उनले मन्दिरको जग्गामा ‘डेभलपर’ले व्यावसायिक भवन बनाउन चाहेको बताए । हिन्दू समुदायले पाकिस्तान हिन्दु परिषद, सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाह र सिन्ध प्रहरी महानिरीक्षकलाई यस विषयमा तत्काल ध्यानाकर्षण गर्न अपील गरेका छन्।
