तुलसीपुर, साउन १ । जीबीएस रोगी छोरालाई बचाउन बुबा एकराज थापाले अपिल गरेका छन । सोमबार रिपोर्टस क्लब दाङमा पत्रकार सम्मेलनको आयोजना गरि देश बिदेशमा रहेका सहयोगि दाताहरुसँग सहयोगको अपिल गरेका हुन । बिरलै व्यक्तिहरुमा देखिने जीबीएस नामक यो रोग सल्यानका ११ वर्षीय रुपक थापालाई लागेको छ ।
सल्यानको छत्रेश्वरी गाँउपालिका वडा नं. १ दमारचौर निवासी थापाको अहिले तुलसीपुरमा रहेको आरोग्य नेचर केयर अस्पतालमा थेरापी विधिबाट उपचार भैरहेको छ । थापालाई २०७९ साल पुस महिनामा सामान्य ज्वरो र झाडापखाला लागेपछि जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको थियो । त्यहाँ रोग निको नभएपछि उनलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल, बाँकेको नेपालगञ्ज हुँदै काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचारका लागि लगिएको थियो । तर आर्थिक अभावका कारण पुनः फर्काएर तुलसीपुरमा ल्याइएको बुबा एकराजले बताए ।
उनका अनुसार छोरा रुपकका दुवै हात खुट्टा बांगो भएका छन, मुख बांगिएको छ, बोल्न सक्दैन्, हिडडुल गर्न पनि सक्दैनन् । ‘पहिले भन्दा केही मात्रामा सुधार भएको छ, तर आर्थिक अभावका कारण काठमाडौँमा बसालेर उपचार गराउन सकिएन, त्यसैले अहिले फेरी तुलसीपुरमा ल्याएर उपचार सुरु गरेका छौं,’ उनले भने ।
यो रोग लागेका व्यक्तिहरु निको हुन लामो समय लाग्ने र खर्च पनि धेरै लाग्ने डाक्टरले बताएको एकराजको भनाई छ । उनका अनुसार छोराको उपचारका लागि अहिलेसम्म ३० लाख बढी खर्च भैसकेको छ । छोराको उपचारका लागि विभिन्न पालिकाहरुमा सहयोगका लागि पुग्दा वेवास्ता गरेको एकराजको गुनासो छ ।
उनले मृत्युसँग लडिरहेको छोरालाई बचाउन सहयोगको याचना गरेका छन । ‘अहिले तुलसीपुरमा उपचार सुरु गरेका छौँ, यहाँ पनि घण्टाको २ हजारको दरले दिनमै १० हजार बढी खर्च हुन्छ,’ उनले भने ‘हामीलाई खर्च पुर्याउन धेरे नै समस्या भएको छ ।’ उनले सहयोग गर्न चाहाने सहयोगी व्यक्तिहरुले मोबाइल नम्बर ९७६८२५६९१६ र मुक्तिनाथ बिकास बैकको खाता नं. ०४२२२३०११०९८३३०००००१ मा रकम जम्मा गरिदिन आग्रह गर्दै सहयोग मागेका छन् ।
