काठमाडौं, १६ साउन । लगातारको संसद अवरोधप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असन्तुष्टि जनाएको छ । सभामुख देवराज घिमिरिले मंगलबार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद बैठक चल्न नसक्दा जनताका मुद्दाहरु उठाउन नपाएको भनी ध्यानाकर्षण गराएका थिए ।
एमालेले एक क्वीन्टल सुन बरामद प्रकरणमा छुट्टै छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसदमा अवरोध गर्दै आएको छ । सत्तापक्ष छानबिन समिति गठन गर्न तयार नहुने र प्रमुख प्रतिपक्ष छानबिन समिति गठन नभए संसद चल्न नदिने अडान छ । ‘मन्त्रीको जवाफ सुन्ने होला । जवाफमा चित्त नबुझे त्यसपछि अगाडि बढ्ने प्रक्रिया होला’ ठूला दलहरु प्रक्रियामा सहभागी हुन तयार नहुँदा समस्या भएको भन्दै प्रमुख सचेतक परियारले भने, ‘पुराना पार्टीहरुको अर्कमण्यताका कारण संसद चल्न सकेन ।’
जनताले सांसदहरुलाई आफ्नो कुरा संसदमा राख र त्यस अनुसार नीति निर्माण गर भनेर पठाएको तर त्यसअनुसार व्यवहार प्रदर्शन गर्ने वातावरण संसदमा बन्न नसकेको रास्वपाकै अर्का सांसद मनिष झाको दुखेसो छ । ‘लम्पी स्किन, म्यानमारमा फसेका नेपालीका विषयमा बोल्न पाइएको छैन । मधेशमा रोपाइँ नभएको विषयमा बोल्न पाइएको छैन ।’
सीमित नेताहरुका कारण सांसदहरु हतियार नभएका लडाकुहरु जस्तो हुन पुगेको सांसद झाको टिप्पणी छ । भन्छन्, ‘सीमित व्यक्तिहको इगोको कारण हाम्रो हतियार काम लागिरहेको छैन । बोल्नै पाइँदैन ।’
संसदमा सुन प्रकरणमा मात्रै नभएर अन्य अनावश्यक विषयमा समेत अवरोध हुने गरेको उनको अनुभव छ । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी चढाउँदा सुन भनेर पित्तल चढाएको टिप्पणी गरेका थिए । त्यस विषयमा एमालेले प्रश्न उठाएर संसद अवरोध गरेको थियो ।
