काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरू भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनाक बैठक सुरु भएको हो ।
गत बुधबारदेखि जारी बैठकमा पार्टी अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि बुधबार र बिहीबार गरी झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् । बाँकीले आफ्नो भनाइ राख्ने क्रम जारी रहेको छ । अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना, पार्टी सुदृढीकरण, चुस्तता र रुपान्तरणमा जोड दिएका छन् । केन्द्रीय सदस्यहरुले पार्टीभित्र टाठाबाठा हावी भएका भन्दै आवाज उठाएका छन् ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा बैठकमा छलफल भइरहेका छन् ।
केन्द्रीय सदस्यहरुले बोलिसकेपछि उनीहरुले उठाएका प्रश्नमा अध्यक्ष दाहालले जवाफ दिनेछन् ।
