दंगीशरण, साउन १९ । समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाको आयोजनामा दंगीशरण गाउँपालिका र आइएम नेपालको सहयोगमा पालिका स्तरीय महिला तथा बालबालिका सुरक्षा संयन्त्र बैठक दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले विशेषगरी विद्यालयहरुमा पुगेर बालविबाहबाट हुने असर, कानुनी सजाय तथा लैङ्गिक हिंसाको बारेमा किशोर–किशोरी लक्षित कार्यक्रमलाई अभियानकै साथ अगाडी बढाउन आवश्यक रहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा वली खड्काले बालविवाह निर्मुल गर्न समाजमा जनचेतनाको अत्यावश्यक रहेको बताइन् । गाउँपालिका भनेको मेरुदण्ड रहेको र सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोगका साथ अगाडी बढे २०८७ सम्म दंगीशरण गाउँपालिकालाई वालबिबाह मुक्त गाउँपालिका घोषणा गर्ने १० बर्षे रणनीतिक योजना पुरा हुने बिस्वास समेत ब्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईले समाजमा हरेक कुरामा नियन्त्रित हुने र स्वतन्त्रतामा कमि तथा प्रजनन र यौन शिक्षामा खुल्न नसक्दा बाल बिबाह तथा लैङ्गिक हिंसामा वृद्धि भएको उल्लेख गरे । बालविबाह र लैङ्गिक हिंसामा दंगीशरण गाउँपालिकाको अवस्था बारे जानकारी गराउदै सिड सस्थाका कार्यक्रम संयोजक उमेश खरेलले समतामूलक समाज निर्माण गर्ने अपेक्षा लिदै परियोजना अगाडी बढाइएको बताए ।
आफुहरुको उद्देश्य बालबिबाहको जोखिम भएका र बाल बिबाह पिडीत बालवालिकालाई संरक्षण गरी अत्यावश्यक सेवा सुविधाहरुको ब्यवस्था गरी १० बर्षे रणनीति अनुरुप अगाडि बढ्नु रहेको बताए । बैठकमा ७ वटै वडाका अध्यक्षहरु, शाखा प्रमुखहरु, कृयाशील संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । बैठकको सहजीकरण सिडकी सामाजिक परिचालिका रेनुका बिकले गरेकी थिइन् ।
